पतंजलिका प्रचारक लोकनाथ : योगमै जीवन समर्पित गरेर निरन्तर ‘जागरण यात्रा’

काठमाडौं । जीवन यात्रामा अधिकांश मान्छे व्यस्त छन् । यतिसम्मकी धेरै व्यक्ति व्यक्तिगत स्वास्थ्य र तन्दुरुस्तीका लागि दैनिक १–२ घण्टा योगाभ्यास गर्ने फुर्सद पनि पाउँदैनन् ।

सांसारिक दौडधूपबीच जीवनलाई नै योगको प्रचारमा समर्पित गरेका साधक हुन् मोरङको सुनवर्षी नगरपालिका–१ केचनाका लोकनाथ खनाल । उनी विगत २२ वर्षदेखि निरन्तर योग अभियानमा समर्पित छन् ।

पतंजलि युवा समिति नेपालका केन्द्रीय संयोजक रहेका खनाल योग प्रचारकै लागि देशभरका ७७ जिल्लामध्ये ७४ जिल्ला पुगिसकेका छन् । अब उनले पुग्न बाँकी जिल्ला हुन् हुम्ला, डोल्पा र जाजरकोट ।

‘म अब ३ जिल्ला पुग्न बाँकी छ । बाटो नमिलेर हो, अब छिट्टै सबै जिल्ला भ्याउँछु,’ राम्रोन्युजसँगको कुराकानीमा उनले भने ।

गाउँले गोठालो, शिक्षक हुँदै योग प्रशिक्षकसम्म

२०३५ सालमा जन्मिएका खनालले निम्न माविसम्मको अध्ययन स्थानीय मंगलसेन माविबाट पूरा गरे । माविको शिक्षाका लागि वीरेन्द्र सार्वजनिक माविमा भर्ना भएका उनले २०५१ सालमा एसएलसी पास गरे ।

स्कूले जीवन सम्झिँदै उनले भने, ‘स्कूले जीवनमा पढाइ र घरायसी काम सँगसँगै गरिन्थ्यो । घाँस काट्ने, हलो जोत्ने, गोठालो गर्ने काम गरेरै स्कूल जान्थ्यौं ।’

शारीरिक स्वास्थ्यलाई ख्याल गर्ने बानी उनमा बाल्यकालदेखि नै थियो । स्कूल पढ्दा पनि नियमित ‘मर्निङ वाक’ गर्ने गरेको उनले स्मरण गरे ।

खनालले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट २०५२–५४ मा आईए पास गरे । त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र कलेजबाट २०५६–२०६९ मा उनले स्नातक अध्ययन गरेका छन् । योग अभियानमा लागेपछि खनालले खुला विश्वविद्यालयबाट योग विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् ।

आईए गरेपछि उनी २०५४ सालमा काठमाडौं आए । त्यसपछि उनले ३ वर्ष सिन्धुपाल्चोक, काठमाडौं र नुवाकोटका विभिन्न निजी विद्यालयमा पढाउने काम गरे ।

२०५८ सालदेखि उनको जीवन योगतिर मोडियो । काठमाडौंमा रहेका बेला पशुपतिनाथ मन्दिर क्षेत्रमा उनले योग शिविर देखे । ‘चरित्र निर्माण संघ नामक धार्मिक संस्थाको ब्यानरमा सुशील महात्माले योग सिकाउनुहुन्थ्यो, योग शिविर देखेर म पनि प्रवेश गरें,’ उनले भने, ‘१ हप्ते प्रशिक्षण लिएपछि मलाई पनि सिकाउने जिम्मा दिनुभयो । योग सिक्नेहरूले तपाईंको सिकाइ राम्रो छ भनेर हौसला दिनुभयो । त्यसबाट हौसिएँ म ।’

योग जति सिक्दै गयो, त्यति अपुरो महसूस हुने गरेको उनले सम्झिए । ‘तालिम लिँदै, सिक्दै, पढ्दै गएपछि पुड्को–पुड्को लाग्न थाल्यो । अध्ययन गर्दै गएपछि ज्ञान कम लाग्न थाल्यो, सिक्न धेरै रहेछ, जान्न धेरै रहेछ भन्ने लाग्न थाल्यो,’ उनले भने । आफूले योग प्रशिक्षणमा सकेसम्म सरल तरिकाले सिकाउने र बुझाउने प्रयत्न गर्ने गरेको उनले बताए । २०६२ सालसम्म उनी चरित्र निर्माण संघमा आवद्ध रहे ।

जागरण यात्रामा निस्किँदा उत्साह

काठमाडौंमा योग तालिम लिएर प्रशिक्षकसम्म बनिसकेका उनी केही समयपछि पोखरा क्षेत्रमा गएर योग सिकाउन थाले । ‘आफ्नै खालको प्याकेज बनाएर योग प्रशिक्षण गराएँ । म जागरण यात्रामा निस्किएको थिएँ,’ उनले भने, ‘पोखराको प्राकृतिक चिकित्सालयमा पनि योग प्रशिक्षकका रूपमा काम गरें ।’

योगको जागरण यात्रामा निस्किँदा उनी विभिन्न जिल्लामा पुगेका छन् । ‘उतिबेला म्याग्दीको तातोपानी निस्किएको, त्यहाँ कार्यक्रम बन्यो । म्याग्दीमै घोरेपानीमा ३ दिनको कार्यक्रम दिँदा राम्रो भयो, म उत्साहित बनें,’ उनले भने, ‘मान्छेलाई योगको आवश्यकता रहेछ, हरेक ठाउँ जाँदा सिकाउँदा राम्रो होला लाग्यो । अनि योग अभियानलाई सिकाउने अभियान बनाएँ । म्याग्दी हुँदै मुस्ताङ गएँ । हरेक गाउँमा सिकाउँदै गएँ ३ महिनाजति ।’

योग अभियानमा विद्यार्थी र महिला बढी सहभागी हुने गरेका उनले बताए । ‘सहभागी महिला नै बढी हुनुहुन्थ्यो । उहाँहरू खुशी हुनुभयो । अर्काे ठाउँ स्कूलमा पुगें, विद्यार्थीलाई योग तालिम दिनुपर्‍यो भने,’ उनले सम्झिए, ‘ठूला मान्छेलाई सिकाउन सजिलो छ, विद्यार्थीलाई सिकाउन गाह्रो हुन्थ्यो । विद्यार्थीलाई सिकाउन पुस्तकबाट प्याकेज बनाएँ । त्यो कार्यक्रम बनाएपछि आफैंलाई खुशी लाग्यो । सहभागीहरू पनि खुशी भएँ । त्यसपछि मलाई हरेक स्कूलमा जानुपर्छ भन्ने लाग्यो । स्कूल र समाज गर्दैगर्दै अरु गाउँ पनि गएँ । सडक नजिकका अरु गाउँमा पुग्दै–पुग्दै मुस्ताङतिर लागें । लेते, कोवाङ, थाकटुकुचे (भूपी शेरचनको गाउँ) र स्याउको राजधानी मार्फामा योग प्रशिक्षण कार्यक्रम गरें ।’

उनी जागरण यात्राका क्रममा विभिन्न गाउँमा गएर सामाजिक अगुवालाई भेट्थे र योग कार्यक्रमबारे छलफल चलाउँथे । अधिकांश ठाउँमा उत्साहजनक कार्यक्रम हुने गरे पनि केही ठाउँमा सहभागिता न्युन हुने गरेको उनको अनुभव छ । ‘उतिबेला गाउँमा मुखिया हुन्थे, मुखियाले खबर गरिदिन्थे तर एकपल्ट कोही आएनन् । खासै सहभागी भएन । पछि त्यहाँको कृषि फार्ममा गएर प्रमुखसँग कुरा गरेपछि कर्मचारी भेला पारेर योग गरियो, त्यहाँबाट योग राम्रो हुने रहेछ भन्ने सन्देश प्रवाह भयो,’ उनले सम्झिए, ‘त्यसपछि म जोमसोममा लामो समय बसें । जोमसोमबाट फर्किने क्रममा पहिला मान्छे जम्मा नभएको ठाउँमा राम्रो कार्यक्रम भयो, त्यहाँ ५ दिन कार्यक्रमसम्म योग प्रशिक्षण भयो ।’

यसरी उनी गाउँगाउँ डुलेर योग सिकाउने अभियानमा लागिरहे । ‘जब–जब योग कार्यक्रम लिएर समाजमा गएँ, समाजका मान्छेहरू रोगले पीडित, समस्याले पीडित देखें, हामीले थोरै प्रशिक्षण दिँदा पनि आउने आनन्दले मलाई योगतिर खिचिराख्यो ।’

     … अनि पतंजलिमा आवद्ध

योग अभियन्ता खनालले गाउँगाउँमा पुगेर योग प्रशिक्षण गराइरहँदा भारतमा पतंजलि योग सञ्चालनमा थियो । भारतमा स्वामीजी बाबा रामदेव र आचार्यजी बालकृष्णको अगुवाइमा योग कार्यक्रम चलिरहन्थे । भारतका योग कार्यक्रम टेलिभिजनहरूमार्फत नेपालसम्म देख्न पाइन्थ्यो । खनालले गाउँगाउँमा योग प्रचार गरिराख्दा उनलाई सोध्ने गरिन्थ्यो – तपाईं पतंजलिबाट हो ?

तर उनी पतंजलिमा आवद्ध भइसकेका थिएनन् । त्यतिबेलासम्म नेपालमा पतंजलिबाट योग प्रशिक्षण भएको थिएन । तैपनि योगको सन्दर्भमा पतंजलिको चर्चा भइरहन्थ्यो ।

‘२०६४ सालमा स्वामीजी महाराजको कार्यक्रम नेपालमा आयो, त्यति नै बेला २०६४ सालदेखि म पतंजलिमा जोडिएँ,’ उनले भने, ‘नेपालमा पहिलो योग शिक्षक तालिम ललितपुरस्थित भूपू सैनिकको भवनमा भएको थियो । लवदेव मिश्र गुरुहरू प्रशिक्षक हुनुहुन्थ्यो । उहाँहरूले हरिद्वारमा प्रशिक्षण लिनुभएको थियो ।’ नेपालमा योग प्रशिक्षण शुरू हुनुअघि भारतको हरिद्वार गएर पतंजलिको योग सिक्नुपर्थ्यो ।

उनले पतंजलिको योग प्रशिक्षण लिएपछि उनी झन् खारिए । उनी स्कूले जीवनदेखि नै पढाउने र घुम्ने कार्यमा रुचि राख्थे । पतंजलिको योग अभियान उनलाई उपर्युक्त माध्यम बन्यो ।

‘म पढाउने कुरामा रुचि राख्ने मान्छे, मेरो लक्ष्य नै शिक्षक बन्ने थियो । प्रौढ कक्षा चलाउँथे गाउँमा हुँदा । पहिला विद्यार्थी पढाउन थालियो, योग पढाउने क्रम चल्यो । अब बच्चाका बाआमा पनि पढाउन थालियो । योग सिकाउनु पनि शिक्षणकै पाटो हो,’ उनले भने, ‘शिक्षण गर्नु, हिँड्नु, यात्रा गर्नु मेरो रुचि हो, यो एउटा अवसर भयो ।’

   

घरायसी मोहबाट टाढिँदै, विवाहलाई टार्दै

उनी योग अभियानमै रहेका बेला उनीसँगैका साथीभाइ वैवाहिक बन्धनमा बाँधिएर घरजम गरिरहेका छन् । विवाह गर्नुपर्छ भनेर उनलाई पनि घरपरिवारबाट दबाब आइरह्यो । जीवनका ४५ वर्ष बिताइसकेका उनले विवाहलाई टार्दै गएका छन् । उनी घरायसी मोहबाट टाढिँदै निरन्तर योग अभियानमा छन् ।

विवाहको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने, ‘घरपरिवारको दबाब आइराख्छ । यस सवालमा म बहिरोजस्तै भएँ ।’ उनका कान्छो भाइले विवाह गरेका छन्, भाइका छोराछोरी छन् ।

‘विवाहलाई टार्न त दह्रो हुनुपर्छ । धेरै योग साधकहरूले व्यवहारले बाँध्यो भन्नुहुन्छ । खासमा व्यवहारले बाँधेको होइन, व्यवहारलाई हामीले बोकेको हो,’ उनले भने ।

पतंजलि परिवारका कारण जहाँ–जहाँ एक्लै हिँडे पनि स्वामीजीकै सहयोग पाए जस्तो भइरहेको उनले बताए । ‘फोहोर बढार्नुपर्‍यो भने कुँचोको एउटा डण्डीले मात्रै बढारिँदैन, डण्डीको समूह भयो भने सजिलो हुन्छ । त्यसैगरी योग अभियानमा पनि एक्लै सकिँदैन, पतंजलिको समूहले योग अभियान फैलिँदै गएको छ ।’

खनालको योग अभियान फैलिँदै जाँदा दाह्री, कपाल पनि बढ्दै जान्छ । ‘मुस्ताङ यात्राका बेलादेखि नै बेलाबेला छोडिदिन्थे । यसलाई चलाउँदैन्थे । एकचोटी द्वन्द्वकै बेला प्रहरीले दाह्राकै कारण रोकेर सोधपुछ गरेको थियो । योगमा लागेपछि यात्राका क्रममा अलिअलि दाह्री आयो, त्यसलाई चलाइनँ,’ उनले भने ।

पहिलोपटक देख्ने मान्छेले दाह्री–कपालका कारण भारतबाट सामान बिक्री गर्न आएको जस्तो ठानेर जिस्क्यिाउने गरेको उनले बताए । उनले भने, ‘मान्छेका थरिथरि प्रतिक्रिया आउँछन्, पहिलोपटक देख्नेले भारतबाट आएर सामान बिक्री गर्ने ठानेर जिस्क्याउँथे, ‘भैया’ भन्थे । जब मैले योगको कार्यक्रम दिक्थे, हेराइ यूटर्न हुन्थ्यो । योग कार्यक्रम दिइसकेपछि सबै प्रभावित भएर मलाई हेर्ने दृष्टिकोण नै फेरिन्थ्यो । लुक्स इज नथिङ । दृश्य केही होइन भन्ने देखाउनुपर्छ ।’

    

उनले थपे, ‘शरीरबाट पनि शिक्षा होस् भन्ने लाग्यो । त्यत्तिकै छोड्दै गए, लम्बिँदै गयो । स्वामीजीसँग पनि मिल्दोजुल्दो भएछ ! दाह्री–कपाल चलाउन पनि मन लागेन ।’

पतंजलि युवा समिति नेपालका केन्द्रीय संयोजक खनाल विद्यार्थीका कार्यक्रममा बढी केन्द्रित छन् । ‘बढी विद्यार्थीको कार्यक्रम फेसबूकमा राख्छु । बच्चासँग केन्द्रित कार्यक्रम फोकस गर्छु । बच्चामा थोरै संस्कार, परिवर्तन गर्न सक्यो भने अझै राम्रो होला । धेरै रोगी भएर योगमा जोडिन्छन्, अबको पुस्ता आवश्यकता हो भनेर जोडिऊन् । दैनिक ३–४ स्कूलमा कार्यक्रम गर्ने गरेको छु,’ उनले भने, ‘स्कूलका कार्यक्रममा सबै अभ्यास गराइँदैन, यसो गर्नुपर्छ है भनेर जागरण कार्यक्रम हो । उत्प्रेरणात्मक कार्यक्रम गरिन्छ, भ्याएसम्म अलि विधि सिकाइदिने । सूर्य नमस्कार गर्नुस् है भनेर संकेत गर्ने । युवा नेपाल समितिको काम पनि विद्यार्थीलाई जगाउने हो । मेरो विशेष रुचि पनि बालबालिकालाई सिकाउने हो ।’

खनाल सुरक्षा निकाय र सरकारी कार्यालयका कर्मचारीलाई पनि योग प्रशिक्षण दिन्छन् । वर्षाैंदेखि उनी अविराम योग यात्रामा खटिएका छन् । उनी योगमार्फत सामूहिक हितका लागि व्यक्तिगत जीवनलाई बिर्सेर अभियानमा केन्द्रित छन् ।

सम्बन्धित
Loading...