काठमाडौं । छैठौं विश्व संस्कृत दिवसको अवसरमा आचार्य पूर्णचन्द्रोपाध्याय ढुंगेललाई विशेष सम्मान गरिने भएको छ ।
शुक्रबार बसेको छैठौं विश्व संस्कृत दिवस कार्यपरिषद्को बैठकले सम्मान गर्ने निर्णय गरेको हो ।
व्याकरण, न्याय, वेदान्त, साहित्य, ज्योतिष, सांख्ययोग तथा पुराणेतिहाससहित ७ विषयमा आचार्य गरेका आचार्य पूर्णचन्द्रोपाध्याय ढुंगेलले विक्रम संवत् २०५७ देखि २०६१ सालसम्म महेन्द्र संस्कृत विश्वविद्यालयमा उपकुलपतिको भूमिका निर्वाह गरिसकेका छन् ।
नेपाल र भारतमा गरी १०० भन्दा बढी शोधार्थीको अनुसन्धानमा शोधनिर्देशकको भूमिकामा रहेर विद्यासाधनामा विशिष्ट योगदान गरेका आचार्य ढुंगेलको योगदानको उच्च मूल्यांकन गरी सम्मान गर्न लागिएको विश्व संस्कृत दिवसका संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले बताए ।
छैठौं विश्व संस्कृत दिवसको अवसरमा १ लाख राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई प्रदान गर्ने निर्णय विश्व संस्कृत दिवस कार्यपरिषद्ले गरेको छ । जरो किलो महाअभियानले संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गर्दै आएको छ ।
गत वर्ष विशेष सम्मान प्रा.डा. दीर्घराज घिमिरे र आरुणि संस्कृत शोधवृत्ति उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।
सम्मान र शोधवृत्ति मिति २०८० भदौ १४ गते आयोजना हुने छैठौं विश्व संस्कृत दिवसको मूल समारोहमा प्रदान गरिने विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक प्रा.डा. माधवप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विक्रम संवत् २०७५ सालदेखि भएको हो ।