काठमाडौं । श्रावण शुक्ल पक्षमा मनाइने एकादशी अर्थात् पुत्रदा एकादशी आज मनाइँदैछ ।
सन्तान तथा छोराछोरी नभएकाहरू सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
पद्म पुराणका अनुसार सन्तान, सुख तथा आनन्द प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत लिने गरिएको ज्योतिष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
धार्मिक मान्यताअनुसार प्राचीनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानका सन्तान भएका थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवार तथा प्रजामा चिन्ता थियो । राजा सुकेतुमानका बुवा पनि राजकाजको जिम्मेवारी सुम्पिने उत्तराधिकारी वा सन्तान नभएका कारण तनावमा थिए । एक दिन राजा सुकेतुमान घोडा चढेर जंगल जाने क्रममा घना जंगलभित्र पुगे ।
जंगलको धेरैभित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको लाग्यो । पानी पाइन्छ कि भनेर उनी जंगलको बीचमा पुगे । निकै पर उनले पानीको ताल देखे । त्यहाँ ऋषिमुनिहरू आश्रम बनाई वेदपाठ गरिरहेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले तालको पानी पिएर तिर्खा मेटाई ऋषिमुनिहरूलाई प्रणाम गरे ।
राजाले ऋषिमुनिहरूलाई सोध्दा पुत्रदा एकादशीको तयारी भइरहेको जानकारी पाए । राजाले पनि पुत्रदा एकादशी र त्यसको फलबारे जानकारी माग्दा ऋषिमुनिहरूले सन्तान प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत लिने गरिएको सबै वृतान्त जानकारी गराए ।
राजाले पनि आफ्नो सन्तान नभएको र व्रत लिने जानकारी ऋषिमुनिहरूलाई गराई विधिपूर्वक व्रत लिए । व्रतका प्रभावले उनलाई पुत्र प्राप्ति भएको पौराणिक मान्यता रहेको छ ।
पुत्रदा एकादशीको व्रत लिनका लागि १ दिनअघि अर्थात् दशमीकै दिनबाट लसुन–प्याज नखाने र शाकाहारी भोजन ग्रहण गर्नुपर्छ । एकादशीका दिन सबेरै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्ने ज्योतिष दुर्गाप्रसाद भण्डारीले बताए ।
पुत्रता एकादशीका दिन भगवान् विष्णुको बालगोपाल रूपको पूजा गर्ने गरिन्छ । बालगोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धूप, दिप, नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ र फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन भगवान् विष्णुलाई अर्घ दिएर व्रत र पूजा समापन गर्ने परम्परा रहेको छ ।