जनज्योति क्याम्पसको स्थापना दिवसमा बाल अनाथालयमा सहयोग

महेन्द्रनगर । प्रतिष्ठित शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले स्थापना दिवसको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा आर्थिक सहयोग गरेको छ ।

भीमदत्त नगरपालिका–२ भाँसीमा रहेको क्याम्पसले शुक्रवार अनाथालयमा भएको कार्यक्रममा बाल अनाथालयलाई नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । क्याम्पसका अध्यक्ष समाजसेवी माधवप्रसाद जोशी लगायत अन्य शिक्षकको उपस्तिथिमा बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई चेक हस्तान्तरण गरिएको क्याम्पस व्यवस्थापन समितिका सदस्य एवं उपप्राध्यापक नवराज जोशीले बताए ।

स्थापना दिवसकै अवसरमा क्याम्पस प्राङ्गणमा वृक्षरोपण समेत गरिएको छ । २०५८ सालमा स्थापना भएको क्याम्पसले हाल जनज्योति एजुकेसन फाउन्डेसनबाट नर्सरीदेखि स्नातकोत्तरसम्मको पढाइ सञ्चालन गरिरहेको छ ।

जनज्योति शैक्षिक संस्थामा करीब २५ सय विद्यार्थी अध्ययन गरिरहेको उपप्राध्यापक जोशीले बताए । छोटो समयमा नै अग्रणी स्थानमा आउन सफल क्याम्पसमा कानून, वाणिज्य, शिक्षा तथा मानविकी संकाय र विषयका कक्षाहरू सञ्चालन हुँदै आएका छन् ।

Loading...