सुर्खेत । कर्णाली प्रदेश सरकारले आज सोमबार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
सोमबार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकी शाखा अधिकृत निर्मला रेग्मीका अनुसार कर्णाली प्रदेश सरकारको विक्रम संवत् २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
विक्रम संवत् २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमांकनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले सहादत प्राप्त गरेका थिए ।
आन्दोलनपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका ५, भेरीका ३ र राप्ती २ जिल्लालाई जोडेर ६ नम्बर प्रदेश घोषणा गरेको थियो । ६ नम्बर प्रदेशले देशमै पहिलोपटक प्रदेशको नामकरण गर्दै कर्णाली प्रदेश बनेको थियो ।