चितवन । नवलपुरको दुम्कौलीस्थित शास्वतधाममा आज शनिवारदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ ।
भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा ३ दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी गु्रपका प्रबन्धक रामचन्द्र धितालले बताए ।
उनले भने, ‘शास्वतधाममा सोमवारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुनेछ । हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।’
दैनिक करीब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।
शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आएका हुन् । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रूपमा चर्चित रहेको छ ।