आज विप्लव नेकपाको बन्द, ठाउँठाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले आज मंगलबार सुदूरपश्चिम बन्द आह्वान गरेको छ ।

आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा सुदूरपश्चिम बन्द गरिएको हो । बन्दका दिन कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेशका ३ मन्त्रालय र प्रदेशसभा नजिक शंकास्पद वस्तु फेला परेका छन् ।

सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशसभा नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीकै लम्कीचुहा नगरपालिका कार्यालय अगाडि समेत शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा लगाएर पक्राउ गरिएको विरोधमा विप्लव नेकपा पार्टी सेती–महाकाली ब्यूरोले बन्द आह्वान गरेको हो । रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नुपर्ने विप्लव नेकपाको माग छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–७ वेलीबाट विप्लव नेकपाका केन्द्रीय सदस्य तथा सेती–महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन क्रान्तिकारीकी सेती–महाकाली ब्यूरो इन्चार्ज गौरा धामी ‘पूर्णिमा’लाई पक्राउ गरेको थियो ।

Loading...