आजदेखि दशैं शुरू, घटस्थापनाको उत्तम साइतबारे यस्तो छ निर्णय

काठमाडौं – नेपालीहरूको ठूलो पर्व बडादशैं आज बिहीवारदेखि शुरू भएको छ ।

असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दशैं पर्व अन्तर्गत आज घरघरमा विधिपूर्वक घटस्थापना गरिँदैछ ।

घरको पूजाकोठा तथा मन्दिरका दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिँदैछ । आज नजिकको नदी तथा चोखो ठाउँबाट माटो वा बालुवा ल्याएर विधिपूर्वक जमरा रोप्ने प्रचलन छ ।

यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा पनि ग्रहण गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

यस वर्षको दशैंमा घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्नुपर्ने जनाइएको छ ।

दुर्गा देवीका ३ वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा रहेको छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै ९ वटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिएको छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम रहेको छ ।

सम्बन्धित
Loading...