सर्वाेच्चको आदेशपछि अगाडि बढ्यो पूर्व गृहमन्त्री बादलविरुद्ध व्यक्ति हत्याको छानबिन
काठमाडौं – सर्वाेच्च अदालतले उजुरी दर्ता गरेर छानबिन प्रक्रिया अगाडि बढाउन आदेश गरेपछि पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध कुमार पौडेलको हत्या आरोपको उजुरी दर्ता भएको छ ।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कुमार पौडेलको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता गरेको छ ।
सर्वोच्चले मृतक पौडेलको परिवारले दिएको जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले आज बुधवार उजुरी दर्ता गरेको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ‘इन्काउन्टर’ भन्दै पौडेललाई मारेको थियो । दर्ता भएको उजुरीमा पूर्व गृहमन्त्री बादल र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि अनुसन्धान गर्न माग गरिएको छ ।
जिल्ला न्यायाधीवक्ता रिद्धिसिद्धि निरौलाले हुलाकबाट प्राप्त जाहेरीलाई सनाखत गरेर प्रहरीको जिम्मा लगाएको जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले अदालतको आदेशपछि जाहेरी दर्ता गरिएको बताएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न असोज १४ गते आदेश गरेको थियो ।
प्रहरीको विशेष ब्यूरोबाट खटिएको टोलीको गोलीबाट २०७५ असोज ५ गते विप्लव नेकपाका नेता पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो भिडन्तमा मारिएको दाबी गरे पनि राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिनबाट उनलाई नियन्त्रणमा लिएर गोली हानेको देखिएको प्रतिवेदनमा उल्लेख भएको थियो ।
जाहेरीमा कुमारको हत्या भएको दावी गर्दै सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, २ नम्बर प्रदेशका प्रदेश प्रहरी प्रमुख तत्कालीन डीआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्यनारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह.र बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न माग गरिएको छ ।