नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आउँदो चुनावबाट आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने जिकिर गरेका छन् । पोष्टबहादुर बोगटी दिवाकरको ७औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका हुन् ।
‘यसलाई बचाउनुछ गठबन्धनको बलबाट हामी दुई तिहाइको सरकार बनाउनबाट वञ्चित भएका छैनौं । त्यसैका लागि मोर्चाबन्दी गरेका हौं’, प्रचण्डले भने, ‘नेपाली जनताले कुरा बुझेको छ । खाली हामी आफूले आफैंलाई बदल्नुछ ।’ जनयुद्धमै सिद्धिन्छ भनेको माओवादी यहाँसम्म आइपुगेको भन्दै उनले भने, ‘पछिल्ला ५÷७ महिनाको आन्दोलनलाई हेर्दा देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी नै रहेछ भन्ने जनतामा स्थापित भइसकेको छ ।’
शान्ति प्रक्रियामा आएपछि पनि मूलधारका पार्टीले ५÷७ सिटभन्दा बढी ल्याउँदैन भनेकोमा माओवादीले देखाइदिएको प्रचण्डले बताए । १५ वर्ष पटकपटक सत्तामा गए पनि देशको राम्ररी देशको नेतृत्व गर्न नपाई–नपाई बित्यो । १०० जना जति त मन्त्री नै भइसके । अब गाउँगाउँसम्म संगठन विस्तार, अभियानहरू लिएर जानुपर्छ’, प्रचण्डले भने, ‘अरुलाई होइन आफैंलाई गाली गरौं । आफैंबाट सच्चियौं अब हामी ठूलो पार्टी हुन्छौं ।’