पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आएको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि हिम्ड टर्मिनल प्रालीको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जको सुख्खा बन्दरगाह आइपुगेको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जनाएको छ ।
२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिंदै आएको थियो ।
रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।
निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।