भदौ १ गतेदेखि देश–विदेशमा हवाइ सेवा खोल्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थगित गरिएका देश–विदेशका हवाइ सेवा आगामी भदौ १ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट हवाइ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । गत चैतबाट नियमित हवाइ उडान बन्द छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले आन्तरिक उडान साउन २१ गतेदेखि र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेदेखि खुलाउन सकिने सुझाव दिएको थियो । मन्त्रालयको प्रस्ताव संशोधन गर्दै मन्त्रिपरिषद् बैठकले दुवै उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।

सामाजिक दूरी कायम गर्न र कोरोना फैलिन नदिन हवाइ उडानका लागि कार्यविधि बनाएर अघि बढाउने निर्णय समेत भएको छ । कार्यविधि बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ ।

कोरोना भाइरस रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान र चैत ११ गतेदेखि आन्तरिक उडान बन्द रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
Loading...