सत्ता गठबन्धनका नेताहरुले मन्त्री बन्ने नेताहरुको नाम दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग केही समय चाहिने बताएका छन् । प्रधानमन्त्री देउवाले नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेपनि उनीहरुले समय माग गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलाइ भइसक्यो, अब छिटो नाम दिनुस् भन्नुभयो,’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘सरकारले पूर्णता नपाउँदा सरकारका कामकारवाहीमै असर देखिन थालेको भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’ छन् ।
उनले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीका लागि छिटो नाम दिन आग्रह गरेका हुन् ।
गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिन पर्खिन भनेका थिए । उनीहरुले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भएको स्वीकार गरेपनि कहिलेसम्म मन्त्रीहरुको नाम दिने भन्नेमा ठोस जवाफ नदिएको पौडेलले बताइन् ।
सत्ता गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आवद्ध छन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए । सर्वाेच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनले आफूसँगै चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले सपथ लिएका थिए । त्यसको एक सातापछि प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेसबाटै उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । चार मन्त्री र एक राज्यमन्त्रीलाई साथमा लिएर देउवाले दुई महिनादेखि सरकार सञ्चालन गर्दै आएका छन् ।
दिनहुँजसो गठबन्धनको बैठक बसे पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।