सभामुखले चेतावनी दिदै एमालेलाई भने-संवादमा आउनुस्

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसदमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संवादमा आउन आग्रह गरेका छन् । संविधान र कानून भन्दा माथि नजान चेतावनी दिदै उनले संवादमा आउन आह्वान गरेका हुन् ।

आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए ।

‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताए । सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।

तर एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन, लगायतका नारा लगाइरहेका छन् ।

सम्बन्धित
Loading...