श्रीमतीका नाममा पसल दर्ता गर्न नपाउने भन्दै २५ हजार असुल्ने दुई पत्रकार पक्राउ

कञ्चनपुरमा श्रीमतीको नाममा मोबाइल पसल दर्ता गर्न नपाइने भन्दै २५ हजार रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महेन्द्रनगर बजारस्थित गल्ली नम्बर ४ मा सञ्चालनमा रहेको साई मोबाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवसँग रकम असुली गरेको आरोपमा नाइस टेलिभिजनका पत्रकार बताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले बुधबार पसलमै पुगेर श्रीमतीका नाममा पसल दर्ता गरेर सञ्चालन गर्न नपाइने भन्दै रकम असुलेको मौखिक जानकारीका आधारमा बिसी र भट्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीकाअनुसार सुरुमा उनीहरुले पसल सिज गरिदिने भनेर धम्क्याउदै दुई लाख रुपैयाँ माग गरेकोमा पछि २५ हजार रुपैयाँ र दुई वटा मोबाइल पावर बैँक लगेका थिए ।

उनीहरुले रकम लिदै गरेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ ।

भारतीय नागरिक श्रीवास्तवले कैलालीको घोडाघोडीकी एक महिलासँग विवाह गरेका थिए । उनले श्रीमतीकै नाममा मोबाइल पसल दर्ता गरेर सञ्चालन गरेका छन् ।

सम्बन्धित
Loading...