प्रदेश २ र सुुदूरपश्चिममा नेकपा एमालेलाई धक्का लागेको छ । सामान्यतया कुनै पनि दल विभाजन हुँदा मूल दलको तुलनामा विभाजनपछि गठन भएको नयाँ दलको आकार सानो र संगठनात्मक अवस्था कमजोर देखिन्छ ।
तर नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको सन्दर्भमा प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा भने सो पार्टी ठूलो बनेको छ । एमाले विभाजनपछि प्रदेश २ मा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी ठुलो देखिएको छ ।
प्रदेशसभामा एमालेका २१ सांसदमध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् भने थप एक सांसदले नयाँ दलको पक्षमा सनाखत गराउने प्रक्रिया जारी रहेको बताइएको छ ।
प्रदेश २ प्रदेशसभामा एमाले दोस्रो ठुलो दल थियो । प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल ५५ सांसदसहित पहिलो दल रहँदा एमाले २१ सांसदसहित दोस्रो ठुलो दल थियो ।
तर पार्टी विभाजनपछि एमाले प्रदेशसभामा पाँचौं दलका रुपमा सीमित भएको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दलका रुपमा रहेको नेकपा एमाले पनि विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद थिए । पार्टी विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
अब एमालेसँग १२ सांसदमात्र बाँकी छन् । यो प्रदेशमा पनि मूल पार्टीको तुलनामा विभाजन भएर बनेको नयाँ दल ठुलो देखिएको हो ।
एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १४ सांसदसहित सबैभन्दा ठुलो दलका रुपमा रहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी १३ सांसदसहित दोस्रो प्रमुख दल बनेको छ । नेपाली काँग्रेस र नेकपा एमालेका सांसद संख्या भने १२-१२ छ । प्रदेशसभामा जसपाका दुई सांसद छन् ।