काठमाडौं । पतंजलि योगपीठका संस्थापक योगगुरु स्वामी बाबा रामदेवले कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका बेला नेपालीका लागि ५ सन्देश दिनुभएको छ ।
लकडाउनका बेला पतंजलि योग समिति नेपालको युवा संगठनले सञ्चालन गरेको ‘अनलाइन युवा शिविर’लाई सम्बोधन गर्नुहुँदै स्वामी रामदेवले युवावस्थाबाटै योग र आध्यात्मिक जागरणमा सहभागी हुन आह्वान गर्नुभयो ।
गत असार २६ गतेबाट शुरू भएको अनलाइन शिविरमा हरिद्वारबाटै सहभागिता जनाउँदै स्वामी रामदेव र आचार्य बालकृष्णले सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा स्वामी रामदेवले नेपालमा योगको प्रचारप्रसार र आध्यात्मिक जागरणका लागि मुख्यतः ५ सन्देश दिनुभएको छ ।
१. नेपाल र भारतबीच आध्यात्मिक र सांस्कृतिक एकता एकता रहिआएको छ, यसलाई कायम राख्दै थप मजबुत बनाउनुपर्छ । पूरै विश्वको मानवता एकै हो । विश्वमा मानवता कायम गर्नुपर्छ ।
२. सभ्य समाज बनाउने र आध्यात्मिक नेपाल बनाउने पतंजलि योग समितिको लक्ष्य हो । आध्यात्मिक नेपाल, आध्यात्मिक भारत र आध्यात्मिक विश्व बनाउन सबै योग साधक लाग्नुपर्छ ।
३. योग र अध्यात्ममार्फत सांस्कृतिक वैभवका साथै सामाजिक र आर्थिक उन्नति हुन्छ । तसर्थ युवावस्थादेखि नै अध्यात्मक र योगाभ्यासमा सक्रिय हुनुपर्छ ।
४. केही मान्छेले रामसीताको नाममा पनि ठिकरा फोडे, राम र सीता राजनीतिक मान्छेको क्षेत्र होइन । राम र सीताबारे राजनीतिक मान्छेले प्रमाणपत्र दिनु आवश्यक छैन । हामीले यो विवादमा पर्नु आवश्यक छैन ।
५. धेरैभन्दा धेरै नेपाली युवालाई योग र अध्यात्ममा जोड्न अनलाइन र सामाजिक सञ्जालका ग्रूपहरू बनाएर योग जागरण फैलाउनुपर्छ ।
स्वामी रामदेव र आचार्य बालकृष्ण सहभागी अनलाइन कार्यक्रममा ५०० भन्दा बढी योग साधकहरूको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्य बालकृष्णले पतंजलिले नेपालमा जडिबुटी प्रशोधन केन्द्र बनाउने तयारी धेरै अगाडिदेखि गरिरहेको भए पनि लकडाउनका कारण केही ढिला भएको बताउनुभयो । लकडाउन खुलेलगत्तै नेपालमै जडिबुटी प्रशोधन गरेर औषधि उत्पादन शुरू गरिने उहाँले बताउनुभयो ।
कोरोना महामारीका कारण योग साधकहरू प्रत्यक्ष भेला भएर योग गर्न नपाइरहेका बेला योग साधनालाई निरन्तरता दिन अनलाइन माध्यमको प्रयोग गरिएको छ । पंतजलि योग समिति नेपालका केन्द्रीय सदस्य तथा मुख्य योग प्रशिक्षक लवराज भट्टले कोरोनाका बेला बिहान–साँझ अनलाइनबाटै दैनिक योगाभ्यास शिविर भइरहेका बताउनुभयो ।
‘हरेक दिन ३ घण्टा बिहान ५–८ बजेसम्म योग अभ्यास हुन्छ, जसलाई आज ८९ दिन पुगेको छ, १ दिन पनि बिराएका छैनौं,’ उहाँले भन्नुभयो, ‘साँझ योग चौतारी हुन्छ २ घण्टा । साँझ ७ बजेदेखि साढे ९ बजेसम्म हुने योग चौतारी ७७ औं दिनमा पुगेको छ ।’
अनलाइनबाट हुने योगाभ्यास कार्यक्रममा दैनिक २५ हजारजति व्यक्तिसम्म सहभागी हुने गरेका भट्टले बताउनुभयो ।
‘अनलाइन योगाभ्यासमा नेपालका ७७ वटै जिल्ला र विदेशबाट नेपाली र विदेशी नागरिक समेत जोडिने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘भारतबाट समेत योग साधकहरू जोडिन्छन् ।’