जसपाबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
देउवा नेतृत्वको सरकारमा सहभागी हुने बारेमा समेत सो दलले सकारात्मक संकेत देखाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउँसो भएको भेटमा अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए । सोमवार अपरान्ह भएको भेटवार्तामा वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी सहभागी थिए ।
देउवाले सरकारमा सहभागी हुन गरेको आग्रहमा महन्थ ठाकुर पक्ष सकारात्मक देखिएको छ । देउवाले पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि फेरि बसेर छलफल गर्न प्रस्ताव गरेका थिए । भेटमा नेताहरूले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइको पहलका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
चौधरीको मुद्दा अदालतमा रहेकोले अदालती प्रक्रियाबाटै यसको टुंगो लाग्नुपर्ने देउवाले बताएका थिए । नेताहरूले छिटो पेशीमा चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।