तटस्थ बसेका ५७ नेतालाई ओली पक्षले दियो ‘बार्गेनिङ’को अर्थ नहुने चेतावनी

नेकपा एमाले विभाजनको पक्षमा नलागेका माधव कुमार नेपाल पक्षीय नेताहरुलाई ओली पक्षले पार्टीमा ‘बार्गेनिङ’ नगर्न चेतावनी दिएको छ । ओली पक्षले ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको बताएको हो ।

नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए ।

उनीहरूले भदौ ४ गते बसुन्धारास्थित अरिकल इभेन्ट्समा छलफल गरेर १४ जना सांसदमाथि गरिएको कारवाही फिर्ता हुनुपर्ने र १० बुँदे सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन थाल्न अध्यक्ष ओलीलाई भनेका थिए ।

१० बुँदे कार्यान्वयन गर्नका लागि अल्टिमेटम दिनुपर्ने र कार्यान्वयन नभए विद्रोह गरेर माधव नेपालले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी)मा जानुपर्ने धारणा पनि प्रकट भएको छलफलमा सहभागी एक नेताले बताए ।

एमाले अध्यक्ष केपी ओली निकट नेताहरूले भने बार्गेनिङका लागि भनिएको अल्टिमेटमको अर्थ नहुने प्रतिक्रिया दिएका छन् । ओलीका तर्फबाट कार्यदलमा रहेका एक नेताले भने, ‘त्यस्तो अल्टिमेटम म भएको भए पनि दिन्नथेँ, अरूले पनि दिनु हुँदैन । त्यसले एकताको प्रयासलाई बिगार्छ । एकतामा लागेका साथीहरूले त्यस्तो भाषा बोल्नै हुँदैन । निरन्तर एकताको प्रयासमा लाग्नुपर्छ ।’

५७ जना नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र त्यसको कार्यान्वयनको लागि पार्टीको गतिविधिमा सहभागी भएर खबरदारी गर्नुपर्ने मण्डलको भनाइ छ । तटस्थ बसेका नेताहरूले २०७५ जेठ २ को अवस्थामा एमालेको मात्रै बैठक बस्नुपर्ने र त्यही बैठकले माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गर्नुपर्ने माग गर्दै आएका छन् ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । उक्त एकीकरणलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले पूर्वावस्थामा फर्काइदिएको थियो ।

सम्बन्धित
Loading...