कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी

नेपाली कांग्रेसमा क्रियाशिल सदस्यतासम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । नेता रमेश लेखकले सदस्यतासम्बन्धी विवाद टुंगिएको दाबी गरेका हुन् ।

क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताएका छन् ।

कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले बताए ।

वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको बताए । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।

नेताहरुबीच टाढाको जिल्लाको क्रियाशील सदस्यता सूची तत्कालै पठाउने सहमति समेत भएको छ । कांग्रेसले भदौ २ सम्म सहमति गरी भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने गरी सदस्यता विवाद टुंग्याउन तीन नेतालाई जिम्मा दिएको थियो । तर नेताहरुले ढिलो गरी सहमतिमा पुगेका हुन् ।

सम्बन्धित
Loading...