शिक्षक र प्रहरीबीच झडप, १७ जना घाइते

कञ्चनपुरमा दरबन्दी मिलानको विषयलाई लिएर आन्दोलित शिक्षक र प्रहरीबीच दोहोरो झडप भएको छ । दरबन्दी मिलानमा असन्तुष्टि जनाउँदै विगत केही समयदेखि आन्दोलित भएको नेपाली काँग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकामा गरेको तालाबन्दी बल प्रयोग गरेर प्रहरीले खोलेपछि झडप भएको हो ।

झडपमा परेर आन्दोलनरत पक्ष र प्रहरीतर्फ समेत गरेर १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) उमाप्रसाद चर्तुवेदीले नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित ९ जना, दुई जना नगर प्रहरी र ६ आन्दोलनरत पक्षका ६ जना घाइते भएको जानकारी दिए ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताउँदै एसपी चर्तुवेदीले सबैको अवस्था भने समान्य रहेको जनाए । प्रहरीलाई ताला लगाएर कोठा भित्रै थुनिदिएपछि बल प्रयोग गर्न बाध्य भएको उनको भनाई छ ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास समेत प्रहार गरेको थियो । आन्दोलनरत पक्षले गरेको ढुङ्गामुढाले नगरपालिकाको सभाहल र केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...