पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मीलाई सरकार जोगाउन सकस

बागमती प्रदेशमा एमालेले सरकारको नेतृत्व परिवर्तन गर्दै प्रदेश सरकारमाथि आफ्नो पकड कायम राख्ने प्रयास गरे पनि प्रदेशसभामा एमालेले बहुमत जोगाउन नसक्ने गाह्रो हुुने देखिएको छ ।

बुधबार डोरमणि पौडेलले एमालेको प्रदेशसभा संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिँदै सरकारको नेतृत्व परिवर्तनका लागि बाटो खोलेका थिए ।

लगत्तै एमालेबाटै अष्टलक्ष्मी शाक्य प्रदेशसभा संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बन्न सफल भइन् । आफू नेतृत्वको सरकारलाई टिकाउन भने मुख्यमन्त्री शाक्यलाई कठिन हुने देखिएको छ ।

एकल बहुमतको सरकार जोगाउन एमालेले लामो समयदेखि माधवकुमार नेपाल पक्षलाई साथ दिँदै आएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको हो । तर, परिस्थिति भने एमाले अनुकुल देखिएको छैन ।

बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ । कोरोनाका कारण केही समय अघि दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो । हाल बागमती प्रदेशसभामा १०९ जना सांसद कायम छन् ।

बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित ५६ जना सांसद् छन् । तर पार्टी विभाजन भइसकेको अवस्थामा भने एमालेसँग स्वाभाविक रुपमा सांसद संख्या घट्ने देखिएको छ ।

माधवकुमार नेपालले बुधबार नै बागमती प्रदेशसभाका ४ जना सांसदहरुलाई समेत समेटेर नयाँ पार्टी दर्ता गराइसकेका छन् । बागमती प्रदेशसभाका सांसद राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल र बसन्त मानन्धर एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टीमा समेटिएका हुन् ।

यद्यपि, माधवकुमार नेपालको पार्टीमा नाम समेटिएका ४ जना सांसदमध्ये २ जनाले आफूले नेकपा एमाले नछोडेको भन्दै विज्ञप्तिसमेत निकालिसकेको नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दिपक निरौलाले बताए ।

माधव नेपालको नयाँ पार्टीमा नाम समावेश भएकामध्येका कृष्णप्रसाद खनाल हाल मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको सामाजिक विकास मन्त्री हुन् । वसन्त मानन्धरले आफू एमालेमै रहने बताएको निरौलाको भनाइ छ ।

राजेन्द्र पाण्डे भने नयाँ पार्टी दर्ता प्रक्रियामै खुलेर लागेका छन् । अर्की सांसद् मुनु सिग्देलले भने कुनै प्रतिकृया दिएकी छैनन् ।

एमालेबाट दुई सांसदमात्र बाहिरिएको अवस्थामा पनि शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिन्छ । त्यो अवस्थामा प्रदेशसभामा एमालेमा ५४ जनामात्र सांसद् बाँकी रहन्छन् ।

सम्बन्धित
Loading...