सरकारले एकाएक बढायोे माधव नेपालको सुरक्षा

सरकारले नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाएको छ ।

प्रहरी प्रधान कार्यालयले आकस्मिक रूपमा नेपालको सुरक्षामा एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी खटाएको जनाएको छ ।

प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेको उक्त टोलीले नेपालको अग्रपंक्तिको सुरक्षा गर्नेछ । यसअघि नेपालको सुरक्षामा नेपाल प्रहरीका दुई जना र सशस्त्रको गाडीसहितको टोली थियो ।

भिभिआइपी-भिआइपीको सुरक्षासम्बन्धी निर्देशिका २०७७ कार्यान्वयनमा आएपछि नेपालको सुरक्षामा रहेको अगुवा गाडीसहितको टोली फिर्ता गरिएको थियो । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने नेता नेपालको सुरक्षामा प्रहरी बढाइएकोबारे आफूलाई जानकारी नभएको बताए ।

सुरक्षासम्बन्धी निर्देशिकाअनुसार गृह मन्त्रालयको टोलीले चुनौती मूल्यांकन गरेपछि मात्रै नेताहरूको सुरक्षा बढाउने÷घटाउनेबारे निर्णय लिने व्यवस्था छ तर आकस्मिक रूपमा आउन सक्ने सुरक्षा चुनौती हटाउन सुरक्षाकर्मी बढाउने गरिएको छ ।

सम्बन्धित
Loading...