नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल एमाले (समाजवादी) दर्ता गर्ने निर्णय गरेसँगै वागमति प्रदेश सरकारमा पनि नयाँ ट्वीस्ट आएको छ ।
नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई मुख्यमन्त्री बनाइने भएको छ । शाक्यलाई आजै साँझ वा भोलि विहानसम्म मुख्यमन्त्री बनाउने तयारी अगाडि बढेको छ ।
एमाले संसदीय दलको बैठक शुरु हुन लागेको र आजै दलको नेता परिवर्तन हुने पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।
मुख्यमन्त्री डोरमणी पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई नेता बनाउने तयारी छ । सकेसम्म आजै साँझ शाक्य मुख्यमन्त्री बन्ने छिन् ।
शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा पर्नेछन् । शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने र बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा शाक्य मुख्यमन्त्री भएपछि २ वर्ष अविश्वास प्रस्ताव पनि ल्याउन नपाइने भएकाले एमालेले यो तरिका अपनाएको हो ।