नेकपा एमालेका सांसदहरूले अफगानिस्तानबाट नेपाली नागरिकको उद्धारमा सरकारले ढिलाइ गरेका कारण नेपाली जनताले ‘वी मिस् केपी ओली’ भन्न थालेको दाबी गरेका छन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसदहरूले केपी ओली प्रधानमन्त्री रहेको समयमा अफगानिस्तानमा विस्फोटमा परेकालाई २४ घण्टामा उद्धार गरे पनि अहिलेको सरकार आफ्ना नागरिक उद्धार गर्न असफल भएको आरोप लगाएका हुन् ।
एमाले सांसद महेश बस्नेतले जनताले फेरि पनि केपी ओली भन्न थालेको दाबी गरेका हुन् । ‘जनताले अहिले वी मिस् केपी ओली भनिरहेका छन् ओली सरकारले विगतमा जसरी काम गरिरहेको थियो, वर्तमान सरकारले काम गरिरहेका राजदूतलाई हटाउने, नयाँ सरकार बनाउन नसक्ने, परराष्ट्र मन्त्री बनाउन सकेको छैन, के फेरि आन्दोलन गर्नुपर्ने हो रु के फेरि पनि केपी ओलीको सरकार ल्याउनुपर्ने हो रु,’ बस्नेतले भने ।
सांसद मनकुमारी जिसीले केपी ओलीलाई ‘बा’ भनिएकोमा विरोध भए पनि जनताले ओलीले अफगानिस्तानबाट २४ घण्टामा उद्धार गरेको भए पनि अहिलेको सरकारले उद्धार नगरेको आरोप लगाइन् ।
‘अफगानिस्तानमा अलपत्र नेपाली दाजुभाइ दिदी बहिनी रोइरहेको बेला जनताहरू वी मिस् केपी ओली भनिरहेका छन्,’ जिसीले भनिन् ।