कृषिलाई प्रकृतिमैत्री तरिकाले प्रयोग गर्न र स्वच्छ उत्पादन प्राप्त गर्न गाईको ठूलो भूमिका हुन्छ । यसका लागि साक्षात लक्ष्मी स्वरुप गाईबारे केही सत्य–तथ्यहरू बुझ्नु आवश्यक छ ।
गाईलाई हामी गौमाता भन्छौं । माताको अर्थ हुन्छ जरुरी चिज बच्चाको लागि त्याग गर्ने । गाईमा ३३ कोटी देवता बास गर्नहुुन्छ भन्ने हाम्रो सनातन मान्यता रहिआएको छ ।
संस्कृत शब्द ‘कोटी’को अर्थ यहाँ ‘प्रकार’ भन्ने हो अर्थात् गाईमा ३३ प्रकारका देवताको गुण रहेको हुन्छ । हाम्रो धार्मिक आस्था अनुसार पनि ‘गोमुत्रे धनवन्तरी’ भन्ने भनाइ हाम्रा पुर्खाहरूले पनि हामीलाई सिकाउँदै आएका छन् । धनवन्तरी आयुर्वेदका प्रवर्तक अर्थात् आरोग्यका देवता हुन् र गाईको मुत्रबाट करीब ४८ रोगहरू जडबाटै समाप्त हुने कुरा आधुनिक विज्ञानले पनि पत्ता लगाइसकेको छ । विभिन्न अनुसन्धानबाट गौमुत्रबाट एलोपेथिक औषधिले ठीक नभएका कैयौं रोगहरू निवारण भएका र प्रतिरोधी क्षमतामा गुणात्मक वृद्धि भएको पुष्टि भएको छ ।
अमेरिकाको पनि गौमुत्रमा ३ वटा ‘प्याटेन्ट’ छ । गाईको गोबरलाई लक्ष्मीको रुपमा हामी पूजा गर्छौं । किनकि गाईको गोबरबाट प्रशस्त उत्पादन गर्न सकिन्छ । उत्पादनबाट नै मानवका आवश्यकता पनि पूरा गर्न सकिन्छ । गाईको गोबर कृषिका लागि सबैभन्दा बढी उत्तम मानिन्छ । अहिले प्रयोग भइरहेको रासायनिक मलखादमा रहेका हानिकारक रासायनहरू खाद्यान्नमार्फत् मानव शरीरमा प्रवेश भई क्यान्सर, सुगर, उच्च रक्तचाप जस्ता १४८ रोगहरू उत्पन्न हुने अनुसन्धानले पुष्टि गरेका छन् ।
एकातिर रासायनिक खादको प्रयोगले मानिसको स्वास्थ्यसँगै जमिनको उत्पादन क्षमता नष्ट भइरहेको छ भने अर्कोतर्फ रासायनिक खादमा खर्च पनि बढी लाग्ने, प्रत्येक वर्ष खादको मात्रा बढाउनुपर्ने, रासायनिक खाद प्रयोग गर्दा पानीको मात्रा पनि बढी चाहिने, उत्पादित खाद्यान्न र तरकारीको उपभोगले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएर त्यसले स्वास्थ्यमा बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा अनावश्यक रुपमा खर्चमा पनि वृद्धि भइरहेको छ । रासायनिक खाद र किटनाशक विषादीको प्रयोगले जैविक विविधता तथा पारिस्थितिक प्रणालीलाई समेत बिगारिरहेको छ । त्यसैले रासायनिक मल र रासायनिक विषादीको प्रयोग हानिकारक छ ।
मानव स्वास्थ सबैभन्दा महत्त्वपूर्ण हो । यसको रक्षाको लागि सबैभन्दा पहिले रासायनिक मल र विषादीको प्रयोग छोड्नुपर्छ । आर्थिक शक्तिशाली हुने दौडमा विश्वका आर्थिक शक्ति राष्ट्रले कृषिमा वैज्ञानिक तरिकाहरू अबलम्बन गरे । हरित क्रान्तिका नाममा उत्पादन तीब्र बनाए तर त्यसले दीर्घकालीन रुपमा मानव स्वास्थ्य, पर्यावरण तथा जमिनको उत्पादकत्वलाई विनाश गर्दैछ भन्नेतर्फ ध्यान नपुग्दा मानव स्वास्थ्यमा गम्भीर चुनौतीहरू देखिन थालेका छन् ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा रासायनिक मलको प्रयोग र वितरण बढाउने नीति लिइएको छ । यस्ता नीतिमा अब पुनर्विचार गर्नुपर्ने आवश्यकता आइसकेको छ । रासायनिक मलको प्रयोगपछि जमिनको उत्पादन क्षमता आधाभन्दा बढी घटिरहेको पुराना किसानको अनुभव रहेको पाइन्छ । त्यसैगरी उन्नत बिउको प्रयोगले अनिवार्य रुपमा पटक–पटक विषादीको प्रयोग गर्नुपर्ने भएकाले उन्नत भनिएका बिउबिजनकै प्रयोगमा पनि विचार गर्नुपर्छ र रैथाने बिउलाई जैविक तरिकाले विकास गर्नुपर्छ ।
हाम्रा पुर्खाले वर्षौंसम्म गरेका अनुभवबाट जुन ज्ञान हामीलाई हस्तान्तरण गर्नुभएको छ, त्यो ज्ञान समग्र विश्वपद्धतिका लागि नयाँ अनुकरणीय जीवनशैली हुन सक्छन् । आधुनिक विज्ञानको आयू एकदमै छोटो छ । एउटै कुरा समय–समयमा परिवर्तन भइरहन्छ । हाम्रा ऋषिमुनिले विकास गरेको विज्ञान दूरदृष्टिमा आधारित छन् अर्थात् सनातन छन् । कृषिका लागि समेत हाम्रो प्राचीन शैली नै सही छ, किनकि त्यो प्रकृतिमैत्री छ । बाली संरक्षणका लागि पनि जैविक विषादीको उपयोग गरी हुनसक्ने क्षतिबाट बचाउन सकिन्छ । जैविक विषादीले मानव स्वास्थ्यमा समेत हानी गर्दैन, वातावरण पनि बिगार्दैन । जस्तैः गौमुत्रमा निमको पात लगायत अन्य जडिबुटी मिलाएर जैविक विषादी तयार गर्न सकिन्छ । जैविक विषादीको प्रयोगबाट कृषि उपजमा लाग्ने विनाशक किराबाट जोगाउन सकिन्छ । यस तरिकाले मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली र जमिनको उत्पादकत्वलाई कुनै हानी गर्दैन । यस्ता विषयलाई मनन् गर्ने हो भने गाईलाई दूधको लागि नभई मुत्र र गोबरको लागि पाल्नु अझ फाइदाजनक रहेको प्रमाणित हुन्छ ।
रासायनिक मलले माटोलाई उत्पादक बनाउने गड्यौला मार्छ । तर गाईको गोबर गड्यौलाको मुख्य खाना हो । गड्यौलाले गोबरलाई एकदिनमै मलमा परिणत गरिदिनसक्छ, यसरी तयार हुने मललाई संसारको सबैभन्दा उत्तम मल मानिन्छ, जसलाई कालो सुन पनि भनिन्छ । माटो खुकुलो बनाउन र वर्षाको पानी जमिनमुनि जान बाटो तयार गरी सबैभन्दा बढी ‘वाटर रिचार्ज’ गर्ने काम समेत गड्यौलाले गर्छ । एक अनुसन्धान अनुसार ‘एउटा गड्यौलाले १ वर्षमा ३६ मेट्रिक टन माटो तलमाथि गर्छ । सोही बराबर ट्रयाक्टरले माटो पल्टाउनु परेमा करीब १०० लिटर डिजेल खर्च हुन्छ । एउटा गड्यौलाले कम्तिमा ५० हजार बच्चा जन्माएर मर्ने गर्दछ ।’ यस्तो जीवलाई रासायनिक मलले १ मिनेटमै मारिदिन्छ, जसले गर्दा जमिन पत्थर हुँदैछ । जमिनले सोस्न सक्ने पानी समेत जमिनले लिन नसक्दा पानी त्यसै बगेर समुन्द्रमा गइरहेको छ ।
नेपालमा हालको तथ्यांक अनुसार ७४ लाख गाई रहेका छन् । यी गाईहरू केवल दुग्घ उत्पादनका स्रोत नभई हाम्रो चुह्लो बाल्ने ग्यास उद्योग र अमूल्य मल उद्योग हुन् । भारतको सिक्किम पूर्णरूपमा अग्र्यानिक खेती हुने प्रदेशका रुपमा स्थापित भएको छ । सम्पूर्ण भारतमा अग्र्यानिक आन्दोलन दियोझैं बल्न लागेको छ तर पनि त्यहाँ रासायनिक व्यापारको पुरानो जग मजबुत नै भएकाले त्यसको शिकार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाल भइरहेको छ । भारतले केवल व्यापारिक प्रयोजनको लागि उत्पादन गर्ने विषादीयुक्त वस्तुहरू उपभोग गर्न हामी बाध्य छौं । नेपालमा भारतबाट कृषिजन्य सामग्री सबैभन्दा बढी आयात गरिन्छ । यसलाई अग्र्यानिक खेतीमा ठोस कार्यक्रम ल्याई विस्तापित गर्र्नुको सट्टा राष्ट्रिय नीति तथा कार्यक्रम र बजेटमा रासायनिक खादको प्रयोग र वितरण बढाउने भन्ने उल्लेख छ । यो कुरा नेपालीको स्वास्थ्यमा पर्ने असर र जमिनको उत्पादकत्वमा हुने क्षतिका दृष्टिले आपत्तिजनक छ ।
एकातिर दीगो विकासका लक्ष्य पूरा गर्ने प्रतिबद्धता तथा वातावरण संरक्षणको नीति लिने, अर्कातिर सरकारको राष्ट्रिय नीति तथा कार्यक्रममा नै यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने कुरा आफैंमा विरोधाभासयुक्त छ । आत्मनिर्भरता नै त्यस्तो उपाय हो, जसले हामीलाई परनिर्भरताको जञ्जिरबाट मुक्ति दिन्छ । आत्मनिर्भरताको मजबुत लौरी भनेको कृषि नै हो । कृषिलाई सदाबहार दाता बनाउने गौमाता नै हुन् । युग जतिसुकै बदलियोस्, आधुनिकता जतिसुकै माथि पुगोस्, प्रकृतिमैत्री हुन सकेन भने परिणाम भयानक पनि हुनसक्छ भन्ने पाठ अहिलेको कोरोना भाइरसको महामारीले राम्ररी सिकाइरहेको छ ।
हरित क्रान्तिका नाममा कृषिमा फैलिएको रासायनिक प्रयोगको महामारीलाई समाप्त पार्ने बेला भइसकेको छ भन्ने चेतना नेपाली किसानमा जागोस् । जय गौमाता !