एकजना प्रतिष्ठित व्यक्तिको राजधानीमा दिनदहाडै गोली हानेर हत्या गरी फरार रहने क्रममा भारतबाट समाती ल्याइएका अपराधीले जेलबाट समेत देशविदेशको संगठित गिरोहमार्फत असुली धन्दा जारी राखेकोमा हिजो उनलाई अदालतले फेरि दोषी ठहर गरेको छ ।
ती कुख्यात पात्र हुन्– समिरमानसिंह बस्न्यात, जसले ०७४ सालको असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वर खरिबोटस्थित घरबाट अनामनगरस्थित कार्यालय आउँदै गर्दा दिउँसो बाटैमा दुई गोली प्रहार गरेर ठाउँको ठाउँ ढालेका थिए ।
उक्त अपराधबापत जेल जीवन बिताउँदै गरेका उनले पवन खड्का, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई, मोहनबहादुर पुन मगर र पूर्वगृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापासँग मिलेर विभिन्न व्यापारी, व्यवसायीसँग फिरौती असुल्दै आएका थिए ।
समिरले जेलबाट उपलब्ध गराउने फोन नम्बरका आधारमा साउदी अरेबियाबाट जाबेद अनबरुद्दिनको टोलीले व्यक्तिहरुलाई धम्क्याउने र ठुल्ठूला ठेक्कापट्टाबाट ३ प्रतिशतसम्म भाग असुल्ने धन्दा चलाउँदै आएको थियो ।
जाबेद हालसम्म फरार छन् भने समिरको टोली जेलमै छ । त्यहीं हुँदाहुँदै हिजो काठमाडौं जिल्ला अदालतले उनीसहितको गिरोहलाई आपराधिक लाभ र संगठित अपराधमा संलग्नताको कसुर ठहर गरेको हो । यसअन्तर्गत सात वर्ष कैद र ७० हजार जरिवानाको प्रावधान छ । यसैमा निर्धारित कैदको थप आधा पनि जोडिन सक्छ ।
अबको एक महिनाभित्र यो गिरोहलाई के, कति सजाय तोक्ने भन्नेबारे अर्को इजलासले ठहर सुनाउनेछ । बादल गृहमन्त्री हुँदा भाइलाई छुटाउने अधिकतम कोसिस भएको थियो तर उनको पद गएसँगै न्यायाधीश प्रकाश ढुंगानाको इजलासले हिजो कसुर ठहर गरेको हो । उता गौचन हत्यासम्बन्धी अपराधको अन्तिम फैसला आउन बाँकी नै छ ।