एसिड बेच्नेलाई जिल्ला अदालत धनुषाले सफाइ दिएकोमा पीडित आरती साहले आपत्ति जनाएकी छन् । उनले अदालत पुगेर न्यायाधीशमाथि घुस खाएको आरोप लगाएकी हुन् ।
अदालतमा आक्रोश पोखेपछि आरतीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषा लगेको छ । आरतीले प्रहरीमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् ।
तर, डीएसपी जितेन्द्र बस्नेतले न्यायाधीशलाई गालीगलौज गर्न थालेपछि सम्झाइबुझाइ गर्न आरतीलाई प्रहरी कार्यालय ल्याएको बताए । उनले केहिबेरपछि आरतीलाई घर पठाइदिने पनि बताए ।
०७७ कात्तिक २७ मा जनकपुरधाम ७ स्थित डेरामा बसेका बेला आरतीमाथि उनकै श्रीमान् सञ्जिवले एसिड प्रहार गरेका थिए । घटनालगत्तै सञ्जिवलाई प्रहरीले पक्राउ गरेको थियो । सञ्जिवले निखिल स्टोरबाट एसिड किनेको बयान दिएपछि संचालक नागेन्द्र साहलाई पनि नियन्त्रणमा लिएको थियो ।
एसिड प्रहार गरी शरिर अंगभंग र कुरुप बनाएको मुद्दामा अदालतको ३ नम्बर इजलासका न्यायधिश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले आरतीमाथि एसिड प्रहार गर्ने उनका श्रीमान् सञ्जिवलाई दोषी ठहर गरे । तर, एसिड बेच्ने नागेन्द्रलाई सफाइ दिइएको छ ।
एसिड बेच्नेलाई सफाइ दिएको कुरा थाहा पाएपछि आरती विक्षिप्त बनेकी छन् ।
उनी भन्छिन्, ‘न्यायधीशले एसिड बेच्नेलाई घुस खाएर सफाइ दिएको छ । ममाथि अन्याय भयो । एसिड फाल्नेभन्दा बढी सजाय त एसिड बेच्नेलाई हुनुपर्थ्यो ।’
सरकारी वकिलको कार्यालयले एसिड प्रहार गर्ने र एसिड बेच्ने दुबैजनामाथि १५ वर्ष ६ महिना कैद सजाय हुनुपर्ने माग दावी अदालतमा गरेको थियो ।
पक्राउ परेको केही दिनमै २ लाख धरौटीमा रिहा भएका थिए नागेन्द्र । रिहा भएलगत्तै आफूलाई आर्थिक प्रलोभन दिएको आरतीको आरोप छ ।
उनी भन्छिन्, ‘विभिन्न व्यक्तिमार्फत ५ लाख रूपैयाँसम्म दिने कुरा नागेन्द्रले गरेका थिए । म प्रलोभनमा परिन्न । तर न्यायाधीश बिक्री भयो ।’
प्रदेश सरकारको झुठो आश्वासन
प्रदेश २ सरकारले आरतीलाई झुठो आश्वासन दिएको छ । उपचार गराएर जनकपुर फर्किएलगत्तै प्रदेश सरकारले उनलाई जागिर र आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । तर, आरतीलाई हालसम्म प्रदेश सरकारले न जागिर दिएको छ, न आर्थिक सहयोग ।
प्रदेश सरकारले आफूसँग विभेद गरेको बताइन् ।
उनले भनिन्, ‘वीरगञ्जकी एसिडपीडितलाई घर पुगेरै आर्थिक सहयोग गरे । म आफैं कैयौंपटक मधेस भवन धाए पनि कसैले वास्ता गरेका छैनन् ।’
रकम अभावका कारण उपचार गराउन पनि नसकेको गुनासो गरिन् ।
एसिड प्रहारबाट आरतीको शरीरको १५ प्रतिशत भाग जलेको छ । दाहिने आँखा समेत गुमेको छ । उनलाई प्रत्येक महिना चेकजाँच गराउन काठमाडौं पुग्नुपर्छ ।
‘अस्पतालमा अप्रेशन खर्च मात्र सरकारले व्यहोरेको छ’, उनले भनिन्, ‘आउदा जाँदा लाग्ने खर्च । खाना खर्च । र, अन्य सबै आफैं तिर्नुपर्छ ।’ अहिलेसम्म काठमाडौंकी एक दिदीले ५० हजार र जनकपुरधामका मेयरले ५० हजारमात्र सहयोग गरेको उनले बताइन् ।