स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले तिरेन कर

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने थप ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । कर नतिर्नेहरूको सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालदेखि व्यवसायी अजेय राज सुमार्गीसम्मको नाम छ ।

नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी संचयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको  महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने बताए ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले सम्पत्तिको विवरण बुझाएका छन् ।

सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ ।

नाम सार्वजनिक गरिएकाहरुलाई लिखित  तथा मौखिक सूचना गरिएको अधिकारीले बताए । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ् गरिएको छ ।

सम्बन्धित
Loading...