देउवा सरकार प्रतिगामी हो, दादागिरी देखाउन थालिसक्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाए ।

आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

उनले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको बताए ।

‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आएको हो’, ओलीको भनाइ छ ।

त्यसक्रममा उनले केही स्वार्थी लोभिपापीहरुका कारण नेकपा फुटाइएको पनि बताए ।

ओलीले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाए । उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दावी पनि गरे ।

‘कम्युनिस्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ’, उनले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरु भएका छन् ।’

ओलीले तुलसीलालका खास अनुयायी आफूहरु भएको दावी पनि गरे ।

‘आन्दोलन र अथक संघर्षको पर्याय हुन् तुलसीलालहरु । उहाँहरुले सिर्जना गरेको आन्दोलनका उत्तराधिकारी हामी यो आन्दोलनलाई कमजोर बनाउन दिँदैनौ’, ओलीले भने, ‘तर आन्दोलनलाई कमजोर बनाउन खोज्ने, अग्रगमन र परिवर्तनका विरुद्ध लागिरहेका हुन्छन् ।’

सम्बन्धित
Loading...