काठमाडौं । मदिरा बिक्रीवितरणका कारण गाउँघरमा विकृति, हिंसा र अपराधका घटना हुने भएपछि काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले मदिरा पूर्ण रुपमा निषेध गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौं गाउँ सभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्र्दै मदिरा निषेधको निर्णय कार्यान्वयन गर्न सबैमा अपिल गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले सूचना जारी गरेर निर्णयको पालना गर्न आग्रह गर्नुभएको छ ।
गाउँ सभाले गाउँपालिकाभित्र साउन १ गतेदेखि लागू हुने गरी घरेलु उत्पादित रक्सी तथा आयातीत सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएकाले सम्बन्धित पसल व्यवसायी, ढुवानी व्यवसायी तथा सर्वसाधारणलाई सो निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
सार्वजनिक सूचना अनुसार नीति तथा कार्यक्रम र गाउँ सभाले गरेको निर्णयलाई बर्खिलाप हुने गरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानूनअनुसार कारवाही हुनेछ । गाउँपालिकाले गरेको निर्णयमा सहयोग गर्न आम समुदाय र व्यवसायीलाई आग्रह गर्दै पसल व्यवसायीले बिक्री–वितरणका लागि राखिएको मादक पदार्थ स्कट भएमा साउन १५ गतेभित्र नष्ट वा फिर्ता गर्नसमेत आग्रह गरेको छ ।
गाउँपालिकावासीलाई कुनै फाइदा नगर्ने बरु समाजमा अशान्ति फैलाउँदै आएको मदिरा निषेध गर्ने गाउँपालिकाको निर्णय जनस्तरमा प्रशंसनीय बनेको छ । चौंरीदेउरालीले ऐतिहासिक निर्णय गरेपनि मदिराको बेफाइदाबारे जानकार हुँदाहुँदै पनि अन्य अधिकांश स्थानीय तहले निर्णय गर्न सकेका छैनन् ।