भीम रावलप्रति प्रचण्डको टिप्पणी– गठबन्धनमा राम्रो भूमिका खेलेका साथी नपत्याउँदो किसिमले ढले

सत्तारुढ गठबन्धनका एक प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्ध भत्काउने षड्यन्त्र अहिले पनि जारी रहेको र एमालेभित्रबाट त्यस्तो खेल हुनसक्ने आशंका गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार बन्नुअघि देखिनै गठबन्धन टुटाउने कसरत भएको बताए । उनले भीम रावलको नाम नलिइ राजीनामा प्रकरणमा केही साथी ढलेको बताए ।

प्रचण्डले भने– यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो । राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले । त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन् ।

आफूहरुले षडयन्त्र बुझेरै जसरी पनि बहुमत जुटाउने प्रयास गरेको झण्डै दुईतिहाई बहुमत बनाउन सफल भएको बताए । अझै पनि गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रचण्डले माधव नेपालसँग आफ्नो कुरा भइरहेको बताए ।

प्रचण्डले भने– कांग्रेस र कम्युनिस्ट भनेर भत्काउन पनि खोजिँदैछ । तपाईंहरुले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र । अनेक प्वाल खोजेर हान्न खोजिँदैछ ।

एमसीसी र आइपिएसकोको कुरा छिराएर गठबन्धन भाँड्ने खतरा रहेकोसमेत प्रचण्डले बताए ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूलाई मन्त्री बन्नेको भीड छिचोलेर हिँड्न आतंक भएको भन्दै माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएको बताए ।

सम्बन्धित
Loading...