भीम रावललाई राजीनामा फिर्ता लिन सांसदहरुको दबाब

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।

‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्‍यौं,’ टोलीमा सहभागी एक नेताले भने, ‘उहाँले त्यसको जवाफ दिनु भएन ।’

पार्टी एकताको लागि राजीनामा दिएको टोलीलाई रावलले जानकारी दिएका थिए । टोलीका सदस्यहरूले राजीनामा फिर्ता लिएरै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका हुन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलगायत एमाले सुदूरपश्चिमकी सचेतक, पूर्वसचेतसहित १३ जनाले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

१० बुँदे सहमति पछि एमाले एकता हुने अपेक्षा गरेको भए पनि त्यो कार्यान्वयनमा चुनौती थपिएको रावलको बुझाइ थियो । आइतबार बरिष्ठ नेता माधव नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णय विपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् ।

माधव नेपाललाई सधैं साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । देउवालाई विश्वासको मत दिने माधव पक्षका २२ मध्ये ११ जना समानुपातिक सांसद छन् ।

रावललाई भेट्न नेपाल पक्षका सांसद मात्रै निवासमा पुगेका थिए । २५ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बाहेकका २४ जना सदस्य मध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना रहेका छन् । १७ जना नै रावलले राजीनामा फिर्ता लिनु पर्ने पक्षमा रहेको उनीहरु बताउँछन् ।

 

सम्बन्धित
Loading...