२०७५ पुस ५ को प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको विभाजनसँगै एउटै कमिटीमा नभेटिएका नेकपा एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा स्थायी कमिटी बैठकमा भेट हुँदैछन् ।
एमाले एकताका लागि गठित १० सदस्यीय कार्यदलले हस्ताक्षर गरेको १० बूदे सहमति अनुमोदनका लागि आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले बताए ।
योसँगै ६ महिनापछि एमालेको आन्तरिक एकता कायम भएको छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यकै हैसियतमा सर्वोच्च अदालतबाट एमाले पुनःस्थापनापछि माधव नेपाल पक्षका नेताहरु पहिलो पटक पार्टी बैठकमा सहभागी हुँदैछन ।
२०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने भएका छन् । यसअघि माधव पक्षबिनाको एमालेमा ती नेता स्थायी कमिटी सदस्यकै हैसियतमा क्रियाशील छन् ।
नेकपाकालीन स्थायी कमिटीमा एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त,बिष्णु रिमाल,रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहनेछन् ।
त्यस्तै पुस ५ पछि नेकपामा ओलीलाई साथ दिएका र एकता बदरपछि ओलीसँगै रहेका रामवहादुर थापा बादल,टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुनेछन् र एमाले एकताको मस्यौदा अनुमोदन गर्नेछन् ।
२०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ ।