नेपालमा यसरी हुँदैछ कोरोना खोप अभियान कार्यक्रम नियमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अब नियमित सञ्चालन हुने बताएको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले आइतबारको नियमित प्रेस ब्रिफिङमा चीनबाट खोप आउने क्रम जारी रहेको भन्दै नागरिकलाई खोप लगाउने कार्यक्रम अब नियमित हुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै खोप अभावमा कोही पनि तड्पिन नपर्ने भन्दै सन् २०२१ भित्र सबैजसो नागरिकलाई खोप लगाइसक्ने बताएका थिए ।

सरकारले ४० लाख खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग ‘नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सोही सम्झौता अनुसार पहिलो लटमा ८ लाख खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याउने सरकारको योजना छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।

खोपको उपलब्धता बढेसँगै खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । राष्ट्रिय खोप सञ्चालन कार्य नीति अनुसार नै विभिन्न जोखिम समूहलाई प्राथमिकताका आधारमा खोप दिने काम भएको उनको भनाइ छ ।

‘६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई पनि खोप दिएर उमेर समूहमा हामी प्रवेश गरिसकेका छौं,’ डा। पौडेलले भने, ‘यो उमेर समूहका सबै नागरिकले पूर्ण रुपमा खोप पाइनसकेको अवस्था हो । यो उमेर समूहका नागरिकलाई खोप पूरा गरेपछि ५५ वर्षमाथिका उमेर समूहलाई लगाउँछौं ।’

६५ वर्षमाथिका ज्येष्ठ नागरिकले कोभिशिल्डको पहिलो डोज लगाएको भए पनि समयमै खोप आपूर्ति हुन नसक्दा दोस्रो डोज लगाउन नपाएको उनले बताए । दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकका लागि खोपको व्यवस्थापन गर्न सरकार प्रयत्नरत रहेको उनले बताए ।

सम्बन्धित
Loading...