निषेधाज्ञामा महंगो भाडा असुलेर गोरखा काठमाडौं यात्रु ओसारपसार गर्ने गोरखाका दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा आउदै गरेको बा ५ ख १०७७ र गोरखाबाट यात्रु लिएर काठमाडौं जादै गरेको बा ५ ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘काठमाडौंबाट आउने माइक्रोले गोरखा जाने कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोला भनेर फेसबुकमै राखेर यात्रु बोकेर ल्याएको रहेछ,’ एसपी शेखर खनालले भने, ‘विशेष सूचनाको आधारमा हामीले माइक्रोलाई मझुवाबाट नियन्त्रणमा लिएका हौं ।’ यात्रुसँग महँगो भाडा असुल गरेको समेत खुल्न आएको उनले बताए ।
त्यस्तै गोरखाबाट काठमाडौ यात्रु लादै गरेको माइक्रोलाइ बाह्र किलोबाट नियन्त्रणमा लिइएको एसपी खनालले जानकारी दिए । ‘यात्रुसँग एक÷एक हजार भाडा लिएर काठमाडौं जान लागेको रहेछ, हामीले नियन्त्रणमा लियौं,’ उनले भने ।
उनीहरुलाई निषेधाज्ञा उल्लघंन गरेको कसुरमा कारवाही हुने उनले बताए । गोरखाबाट काठमाडौंसम्मको नियमित माइक्रोबस भाडा ४५० रुपैयाँ छ । तर उनीहरुले दोब्बरभन्दा धेरै असुल्ने गरेको पाइएको प्रहरीले बताएको छ ।