तामाकोशीमा थुनिएको पानी चीनले खोल्यो

चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका डिएसपी भेषराज रिजालले तामाकोशीमा पानीको बहाव बढे पनि जोखिम नरहेको बताए । उनले  भने, ‘हिजो-अस्तिको भन्दा थ्रेट कम भएको छ ।’

चीनको टिंग्री काउन्टीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको जानकारी चिनियाँ पक्षले गराएको थियो । अहिले चिनियाँ पक्षले नै नदीको बहाव कन्ट्रोलमा रहेको जानकारी दिएकाले तत्कालको जोखिम टरेको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए ।

दोलखाको बिगु गाउँपालिका-१ लप्चीको सिमानामा थुनिएको नदीमा बाढी आउन सक्ने र यसले क्षति पुर्याउन सक्ने आशंका थियो । डीएसपी रिजालका अनुसार तामाकोशी ड्यामको अहिले चारवटा ढोका खोलिएको छ ।

तामाकोशीमा बिहान साढे ५ बजे गरिएको मापनमा जलसतह १९७९.८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको डिएसपी रिजालले बताए ।

सम्बन्धित
Loading...