काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँटोलमा डेरागरी बस्दै आएका धिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो।
बनेपाकै तीनदोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीया मनिषा कार्की घिमिरे र छ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए।
उनका अनुसार बिहीबार बेलुका बनेपा नपा–८ करुणामार्गस्थित भित्री गल्लीबाटोमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घिमिरेले श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराएर डेरा गरी बस्ने कोठाको बाहिरबाट ताल्चा लगाएर हिडेको अवस्थामा स्थानीयवासीले सोधखोज गर्दा ‘हिजो हाम्रो झगडा परेको थियो, पसलतिरै होली’ भन्दै भागेकाले प्रहरीलाई खबर गरिएको थियो।