जब ४० रुपैयाँ लुटेपछि पालैपालो कुटेर युवकको हत्या गरेको रहस्य खुल्यो…

बिहीबार राति करिब साढे ९ बजेतिर जिल्ला प्रहरी कार्यालय कैलालीलाई बसपार्कमा एक जना मृत अवस्थामा फेला परेको खबर प्राप्त भयो । खबर प्राप्त हुनासाथ तत्कालै प्राविधिक जनशक्तिसहित प्रहरी टोली भ्यानमा बसपार्क पुग्यो । अन्दाजी २७-२८ वर्षको युवक सुतेको अवस्थामा मृत भेटिएको क्षेत्रलाई प्रहरीले सिल गर्यो । रातिको समय भएका कारण प्रहरीले घटना स्थल सिल गरेपनि शवलाई चलाएन । बरु रातभरी प्रहरीले शवलाई पहरा दिएर बस्यो ।

मृतकको युवकको मुख, टाउको र शरीरमा चोट पटक लागेका कारण उनको कुटपिटबाट हत्या भएको हुनसक्ने निष्कर्ष प्रहरीले निकाल्यो । सोहीअनुसार प्रहरीले बसपार्क क्षेत्रका केही मानिसहरुमाथि निगरानी बढाउँदै अनुसन्धान कार्य थाल्यो । मृतक युवकलाई चिन्ने व्यक्ति कोही थिएनन् ।

व्यापारीहरुलाई बुझ्दा ती युवक केही दिनदेखि दिउँसोतिर सोही क्षेत्रमा डुल्ने गरेको कुरा पत्ता लाग्यो । उनले कसैलाई पनि आफ्नो नाम र ठेगाना बताएका थिएनन् । बरु आफू बिरामी रहेको बताउने गरेको कुरा प्रहरीलाई स्थानीयले बताएका थिए । घटनास्थल कार्य सकेर प्रहरीले मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुगाइसक्दा समेत अनुसन्धानमा खटिएको टोली भने घटना स्थलको विश्लेषणमा थियो । त्यति बेला नै प्राविधिक टोली भने आसपासका होटलका सीसीटीभी फुटेजको विश्लेषणमा जुट्यो ।

एउटा यस्तो फुटेज प्रहरीले प्राप्त गर्यो जुन प्रहरीका लागि उक्त घटनाको वास्तविकता पत्ता लगाउन बलियो र सबैभन्दा महत्वपूर्ण प्रमाण बन्यो प्रहरीले प्राप्त गरेका सीसीटीभी फुटेजमा रातिको समयमा मृतक बसपार्क क्षेत्रमै डुल्दै गरेको दृष्य देखिन्छ । घरी उठ्ने, घरी बस्ने गरेका उनी एकछिन्पछि बसपार्क भित्रै रहेको प्रतिक्षालयमा पल्टीन्छन् ।

उनी प्रतिक्षालयमा पल्टीएको केही बेरमै चार जना युवक सोही स्थानमा आइपुग्छन् । मदिराको नसामा भएका ती युवकले उनीहरु आएको थाहा पाउँदैनन् । उनीहरु उनको खल्ती चेक गर्न थाल्छन् । एउटा खल्तीमा भएको पैँसा लुट्छन् । तर एकछिन् उनी चलेपछि त्यहाँबाट भाग्छन् । उनको खल्तीमा भएको ४० रुपैयाँ लुटेर गएका उनीहरु पुनः थप पैँसा हुनसक्ने ठानेर युवक भएकै स्थानमा पुग्छन् । त्यो बेला भने युवकले उनीहरु आएको थाहा पाउँछन् र उठ्न खोज्छन् । तर चार मध्ये एक जनाले उनलाई लात्ताले हिर्काएर लडाउँछ । मदिराको नसामा भएका कारण उनी प्रतिवाद गर्न सक्दैनन् ।

पटक पटक उठ्न खोज्दा पनि चार जना युवकको समूहले पालैपाले उनीमाथि कुटपिट गर्छ । अन्ततः उनी बेहोस भएपछि छोडेर त्यहाँबाट उनीहरु भाग्छन् । युवक मृत्यु करण घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सीसीटीभी फुटेजमा ती युवकले पालैपालो घरी हातले त घरी लाताले कुटेको देखिन्छ । सोही फुटेजका आधारमा प्रहरीले उनीहरुको पहिचान गर्दै शुक्रबार साँझ नै पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही छन् । उनीहरु चारैजना गाडीका सहचालक रहेको खुलेको प्रहरीले जनाएको छ । मृतक र उनीहरुबीच पूर्व चिजान भने नरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट बताउँछन् ।

‘मृतकसँग अभियुक्तहरुको पूर्व चिनजान रहेको देखिदैन्,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने, ‘घटना भएको दिन मदिरा सेवन गरेर त्यहाँ डुलिरहेको देखेपछि उनीहरुमा लुट्नुपर्छ भन्ने विचार आएको देखिन्छ । उनी पल्टेको मौका छोपेर खल्तीमा भएको ४० रुपैयाँ लुटेको पाइयो । जुन कुरा प्रारम्भिक अनुसन्धानमा अभियुुक्तले पनि स्वीकार गरेको अवस्था छ । हामी थप अनुसन्धान गर्दैछौँ ।’

प्रहरीका भनाईमा उनीहरुले युवकको हत्या गर्ने पूर्व समेत बनाएको देखिदैन् । तर चारै जना अभियुक्त प्रायजसो समूहमै सुत्ने, खाने, बस्ने गरेको पाइएको छ । प्रहरीले उनीहरु माथी कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । मृतक युवकको पहिचान भने अझै खुल्न सकेको छैन । हुलिया कटाउँदा समेत पहिचान खुल्न नसकेपछि प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगको समन्वयमा अन्तिम संस्कार गरिसकेको छ ।

 

सम्बन्धित
Loading...