नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् । पार्टीको स्थायी कमिटिको निर्णय विपरीत प्रदेश सरकारको मन्त्रीमण्डलमा सहभागि भएको भन्दै २४ घण्टे अल्टीमेटम दिँदै एमाले प्रदेश कमिटिले शनिबार स्पष्टीकरण मागेको थियो ।
तर उनीहरु ६जनाले नै स्पष्टीकरण पेश नगरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ । ‘उहाँहरुले अहिलेसम्म स्पष्टीकरण बुझा्उनुभएको छैन,्’ एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्ण थापाले भने, ‘अब उहाँहरुमाथि पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही हुन्छ ।
त्यो प्रक्रिया अगाडि बढिसकेको छ ।’ गत सोमबार एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहोरिदा भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्कालाई मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका थिए ।
यस्तै एमालेकै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउदलाई सामाजिक विकास राज्य मन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको थियो । यसअघि नै कारवाहीका लागि सिफारिसमा परेका आर्थिक योजना मन्त्री शाह बाहेकका ६ जना मन्त्रीसँग एमालेले स्पष्टीकरण मागेको थियो । पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गा कुमारी कामीले पनि स्पष्टीकारण नबुझाएको एमालेले जनाएको छ ।