कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्माहत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्माहत्या गरेकी हुन् ।
वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्माहत्या गरेको बताए ।
‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्माहत्या गरेको अवस्थामा फेला परिन् ।’
रावतकाअनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुबै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए । सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए । मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।