गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् ।
बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२ , राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेको बताए । उनले सांसदको संख्या भने विश्वासको मत लिँदा प्रदेशसभामा गणना हुने बताए ।
सांसद पोखरेलले प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने आशा व्यक्त गरे ।