नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरूलाई आग्रह गरेका छन् ।
परिषद्को आइतबारको बैठक स्थगित गर्न पनि दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले आइतबार बिहान ९ बजेका लागि बैठक बोलाएका छन् ।
दाहालले शनिबार विज्ञप्ति जारी गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बैठक बोलाएको भन्दै बैठकमा सहभागी नहुन सदस्यहरूलाई अनुरोध गरेका हुन् ।
’प्रमुख प्रतिपक्षका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,’ दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीले बारम्बार अध्यादेशको दुरुपयोग गरेको पनि दाहालको भनाइ छ ।