एमाले जोगाउन दोस्रो तहका नेताहरु दौडधुपमा

काठमाडौं नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरु दौडधुपमा लागेका छन् । एकता जोगाउने अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच छलफल जारी छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत छलफलमा लागेका हुन् ।
छलफलका लागि माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई बिहानैदेखि बालुवाटारमा छन् । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा छन् ।
स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता पनि एमाले एकता कायम गर्ने छलफलहरूमा सामेल छन् । माधव पक्षका यी चार नेतासँग केही दिनयता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलले निरन्तर छलफल गरिरहेका छन् ।

पार्टीलाई कुनै न कुनै रुपमा जेठ २, २०७५ को अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन माधव पक्ष नेताहरुले जोड दिएका छन् । एकता प्रयास जारी रहे पनि बुँदागत रुपमा टुंगो लागिनसकेको वार्तामा सहभागी एक नेताले बालुवाटारबाट बताए ।
यसैबीच नेताहरुबीच एकताको प्रयास भइरहेका बेला उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । पार्टी एकता कायम गर्न राष्ट्रपतिले एमालेका शीर्ष नेताहरुसँग छलफल जारी राखेका बेला पोखरल शीतल निवास गएका हुन् ।

 

सम्बन्धित
Loading...