पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गतेको प्रदेशसभा बैठकमा मतदान गर्ने निर्णय गरेको हो। यसअघि बेशाख १५ गते अविश्वास प्रस्ताव मतदानमा लैजाने कार्यसूची थियो।
संसद अधिवेसनमा जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि मतदान हुन सकेको थिएन । सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्ताव मतदानमा नलगी सदन अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि बढाएर पेश भएको अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन्।
सोही प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको जनमोर्चाका ३ जना सांसदमध्ये शाही सम्पर्कविहिन सदन स्थगित भएको थियो।
सांसद हराएपछि उक्त दिन अविश्वास प्रस्ताव मतदानमा लगेको भए प्रस्ताव फेल हुने सम्भावना थियो। गण्डकी प्रदेश सभामा सत्तारुढ एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रका १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ जना गरी ६० जना सांसद छन्।
विपक्षी दलहरुको गठबन्धनलाई जनमोर्चाले साथ दिँदा उनीहरुलाई आवश्यक बहुमत ३१ पुगेको छ। वैशाख २७ गते अविश्वास प्रस्तावमा हुने मतदान सबै सांसद उपस्थित भएर दलीय ह्विप पालना गरे कांग्रेस नेता नेपाली गण्डकीको दोस्रो मुख्यमन्त्रीका रुपमा निर्वाचित हुनेछन्।