२२ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिका–२ कि ५० वर्षीया महिला वैशाख १९ गते धनगढीको सारथी अस्पताल भर्ना भइन् ।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले उपचार गर्न नसक्ने भन्दै मंगलबार नै निकालिदियो ।
‘आईसीयू र भेन्टिलेटर हामीसँग छैन भनेर अस्पतालले अन्तिम अवस्थामा निकालिदियो,’ उनका भतिजा भरत ओलीले भने, ‘साँझ सेती अस्पतालमा ल्याएका थियौं । आईसीयूमा राखेर काकीको उपचार भइरहेको थियो । तर बिहान निधन भयो ।’ अस्पतालसँग आईसीयू हुँदाहुँदै उपचार नगरिदिएको ओलीले बताए ।
कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि दिए पनि नतिजा नआएकाले ती महिलाको दाहसंस्कार हुन सकेको छैन ।
सारथी अस्पतालका सञ्चालक वेदप्रकाश जोशीले उपचारका लागि ती महिला कोरोना संक्रमित भएको र भेन्टिलेटर सपोर्टमा उपचार गर्नुपर्ने भएपछि अन्त्यत्र लैजान भनेको बताए । ‘कोरोना पोजेटिभ भएकाले उहाँलाई भेन्टिलेटरमा राख्नुपर्ने थियो । त्यसैले अन्यत्र लैजान भनेका हौं । आईसीयू छैन भनेका छैनौं’ उनले भने ।
अक्सिजन अभाव देखाउँदै अस्पतालले निकालिदियो
डोटीको शिखर नगरपालिकाका कृष्ण ताम्राकार ५५ वर्षीय बिरामी बुवालाई लिएर चार दिनअघि धनगढी झरेका थिए । वैशाख ७ गतेदेखि अलिअलि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ताम्राकारले बुवालाई जिल्ला अस्पताल डोटीमा भर्ना गरेका थिए ।
जिल्ला अस्पतालले शरीरमा अक्सिजनको मात्रा कम भएका कारण डोटीमा उपचार सम्भव नभएकाले अन्यत्र लैजान सुझाएपछि उनी धनगढी आइपुगे । शुरुमा उनले बुवालाई धनगढीको केजी हस्पिटलमा भर्ना गरेका थिए ।
अस्पतालले तीन दिनसम्म अक्सिजन सपोर्टमा राखेका उनका बुवालाई मंगलबार साँझ भने अक्सिजन अभावको कारण देखाउँदै निकालिदियो । शरीरमा ६३ प्रतिशत मात्र अक्सिजनको मात्रा भएकै बखत बुवालाई अस्पतालले निकालेपछि उनी बिचल्लीमा परे ।
‘बिरामीको अवस्था निकै जटिल भइसकेको छ, हामीसँग अक्सिजन छैन,’ उनले भने, ‘अन्यत्र लैजानुस् भन्दै अस्पतालले निकालिदियो ।’
त्यसपछि एम्बुलेन्स खोज्नतिर लागेका उनलाई एम्बुलेन्स पाउन पनि मुश्किल पर्यो । बल्लतल्ल एउटा एम्बुलेन्स पाए तर अक्सिजन बिनाको । सोही एम्बुलेन्समा राखेर उनले बुवालाई सेती प्रादेशिक अस्पताल लगे । तर सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड मात्र होइन ग्यालरी पनि कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीले भरिएको थियो ।
ठाउँ नै नभएपछि ताम्राकारले बिरामी बुवालाई अस्पताल परिसरमै रहेको स्टेचरमा राखे । राति पानी परिरहँदा र भोलिपल्ट चर्को घाममा पनि उनी अक्सिजन सपोर्टमा राखिएका बुवालाई अस्पताल परिसरमै कुरिरहेका थिए ।
‘अस्पतालमा न बेड खाली छ, न त बुवालाई राख्न मिल्ने अन्य ठाउँ,’ उनले दुःख पोखे, ‘यही रुखको छहारीमा राखिरहेको छु । बेला–बेला डाक्टर आएर चेकजाँच गरिरहनुभएको छ । एन्टिजेन नेगेटिभ आयो । पीसीआर परीक्षणका लागि दिएका छौं ।’
यी दुई जना प्रतिनिधि पात्र मात्र हुन् । विगतमा सरकारी अस्पतालबाट आर्थिक चलखेलमा बिरामी तानातान गर्ने आरोप खेप्दै आएका धनगढीका निजी अस्पतालहरुले महामारीका बेला पनि बिरामीलाई दुःख दिन थालेको गुनासो बढ्दो छ । अहिले निजी अस्पतालहरु शुरुमा भर्ना गर्ने र पछि कोरोना संक्रमित भन्दै अन्तिम अवस्थामा निकालिदिन थालेको पाइएको छ ।
केजी हस्पिटलका अध्यक्ष दिलबहादुर कठायतले जताततै अक्सिजनको चरम अभाव भइसकेकाले गम्भीर बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको दाबी गरे । ‘हामीसँग अक्सिजन नै छैन, अनि गम्भीर बिरामीको कसरी उपचार गर्ने ?,’ उनले भने, ‘सीडीओलाई भनेर हिजो राति जेनतेन दुई सिलिन्डर अक्सिजनको व्यवस्थापन गरेर एकजनाको ज्यान जोगायौं ।’
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अस्पतालहरुले नियतवश यस्ता काम गरेको भएमा कानून बमोजिम कारवाही हुने बताए ।अनलाइनखबरबाट साभार