काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका नेता मुकेश चौरसियाको हत्या अभियोगमा नेकपाकै नेता तथा पूर्व सांसद राजकुमार गुप्तालाई सरकारले जोगाउन खोज्दाखोज्दै पनि किटानी जाहेरी दर्ता भएको छ ।
यसअघि सरकारको इशारामा पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको आरोप नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेताहरूले लगाउँदै आएका थिए । प्रचण्ड पक्षीय चौरसियाको हत्या सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर स्थानीय नेता कार्यकर्ताले गरेको आरोप नेकपाभित्र छ ।
हत्यापछि किटानी जाहेरी दिन खोजे पनि पर्सा प्रहरीले जाहेरी लिन मानेको थिएन । पूर्व सांसद गुप्ताको नाम किटानी जाहेरीबाट हटाए मात्रै जाहेरी दर्ता गर्ने प्रहरीको अडान थियो ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालयमा १२ जनाविरुद्ध जाहेरी दर्ता भएको हो । जाहेरी दर्ता नहुँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाका अध्यक्ष प्रचण्डले आपत्ति जनाएका थिए ।
मृतकका परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले बताउनुभयो । किटानी जाहेरी परेकामध्ये ३ जना प्रहरी हिरासतमा रहेका छन् भने अन्यलाई प्रहरीले पक्राउ गरेको छैन ।
प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले १२ हप्तादेखि चौरसियाको शव बुझेका थिएनन् । वकिल कार्यालयको निर्देशनमा प्रहरीले जाहेरी लिएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझेर शुक्रबार अन्त्येष्टि गरिने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिनुभयो ।
नेकपाको बिन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा कात्तिक ६ गते २ पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । चौरसियाको मृत्युपछि प्रचण्ड पक्षीय नेताहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।