काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका सकारात्मक पाटो सँगसँगै नकारात्मक प्रभाव समेत देखिन्छन् । त्यस्तै गलत धन्दामा केही गिरोह नेपालमा सक्रिय भएका प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर झुक्याई प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन आग्रह गरेको छ ।
विभिन्न व्यक्तिको ल्यान्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आईडी बनाएर फोन गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले ब्युरोले सूचना जारी गरी सावधान हुन अनुरोध गरेको छ ।
प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई यस्ता गिरोहले त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृश्य माग गर्ने गरेको पाइएको ब्युरोको विज्ञप्तिमा जनाइएको छ ।
‘उनीहरूले फोन गरेर तपाईंको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौं, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आईडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ,’ ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ब्युरोले यस्ता अश्लील र झुक्याउने गतिविधिबाट सचेत हुन र व्यक्तिगत विवरण कसैलाई नदिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।