यसरी अगाडि बढ्यो निर्मला हत्याको अनुसन्धान, नयाँ अनुहारमाथि उच्च निगरानी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्‍याउने बताउँदै आइरहेका बेला प्रहरीले हत्या घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।

‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, पुराना मिसिल पुनः अध्ययन गर्ने तथा शंकास्पद पुराना तथा नयाँ अनुहारमाथि उच्च निगरानी राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कडायतले भने ।

उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् । ‘पहिले अनुसन्धानमा तानिएका र छुटेकाहरूको मुद्दा टुंगिएको होइन, आवश्यक परे फेरि पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । नयाँ अनुहार पनि निगरानीमा छन्,’ प्रवक्ता कडायतले थपे ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने नीति लिएपछि सुस्त रहेको अनुसन्धानले फेरि तीव्रता लिएको हो । महानिरीक्षक क्षेत्रीले पदभार सम्हाल्दा नै सो घटनालाई टुंगोमा पुर्‍याउने बताएका थिए ।

‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

२०७५ साउन १० गते पन्तको घरनजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना भएको २४ औं दिन अर्थात् भदौ ४ गते प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

तर डीएनए परीक्षणको अनुसन्धानले विष्टलाई निर्दोष देखाएपछि उनी छुटेका थिए । विष्ट निर्दोष रहेको भन्दै कञ्चनपुरमा आन्दोलन उठ्दा भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय सन्नी खुनाको ज्यान समेत गएको थियो । त्यस बखत सो घटनामा परी १२ जनाभन्दा बढी घाइते भएका थिए ।

गृह मन्त्रालयले सो घटनाको अनुसन्धानका लागि भन्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको समितिले निर्मलाको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा लगेर शव फालिएको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा चरम लापरवाही गरेको भनिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी धीरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि पनि घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगेका थिए भने आयोग टोलीले डीएनए परीक्षणको विधि नै सही नभएको निष्कर्ष निकालेको थियो ।

वर्तमान आईजीपी थापाले भने आईजी भएलगत्तै सो घटनाबारे ३ जना डीआईजीसँग छलफल समेत गरेका थिए । स्रोतका अनुसार प्रहरी महानिरीक्षक थापाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी (हाल एआईजी) निरज शाहीसँग घटनाबारे छलफल गरेका थिए ।

घटनाको अनुसन्धानका लागि यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिए पनि प्रहरीबाट घटनाको निष्कर्षतर्फ कुनै उपलब्धि भएको छैन । प्रहरीतर्फबाट घटनाको अनुसन्धानका लागि पठाइएका समिति नै धेरै पटक फेरबदल भइसकेका छन् ।

हत्याको अनुसन्धानमा गएका प्रहरीहरू समेत यसबीचमा अनुसन्धानको दायरामा तानिएका छन् भने उनीहरूविरुद्ध नै उल्टै मुद्दा चलेको छ । मुद्दा चलेका प्रहरी अधिकारी सहितले केही समयअघि मात्रै जिल्ला अदालत कञ्चनपुरबाट सफाइ समेत पाइसकेका छन् भने उनीहरूमाथि लगाइएको निलम्बन समेत फुकुवा भएको छ । राजधानी दैनिकमा खबर छ ।

Loading...