काठमाडौं । जनप्रतिनिधिहरू व्यक्तिगत सेवासुविधा र भ्रष्टाचारमा लिप्त रहेको भनेर आलोचना भइरहेका बेला बझाङ जिल्लाको साइपाल गाउँपालिकामा नेपाली कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिले प्रशंसनीय काम गरेका छन् ।
कांग्रेसबाट जितेका गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीको नेतृत्वमा सञ्चालित आँखा शिविरमा स्थानीय जनताले सेवा लिएका छन् । गाउँपालिकाका दुर्गम बस्तीबाट सेवा केन्द्रसम्म आउन नसकिने भएपछि गाउँपालिकाले सबैको गाउँमा हेलिकप्टर पुर्याएर आँखाका बिरामीलाई सेवा केन्द्रसम्म पुर्याएको थियो ।
मेडिकल टीम, स्वास्थ्य सामग्री ढुवानी र सर्वसाधारणलाई ओसारपोसार गर्न साइपाल गाउँपालिकाले हेलिकप्टर नै रिर्जब गरेर आँखा शिविर सञ्चालन गरेको छ । कात्तिक १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको शिविरमा ३ दिनसम्म सिम्रिक एयरको हेलिकप्टर बझाङमै राखिएको थियो ।
साइपाल गाउँपालिकाको दुर्गम धुली र धलौन गाउँबाट हिँड्न नसक्ने आँखाका बिरामीलाई हेलिकप्टरमार्फत शिविरस्थल काँडासम्म ल्याएको थियो । ‘हेलिकप्टर रिजर्ब गरेको भएर यसपालिको आँखाको अप्रेसन तथा बृहत् स्वास्थ्य शिविरमा राम्रो उपलब्धि भयो,’ अध्यक्ष धामीले भन्नुभयो, ‘बिरामीसहित डाक्टर अतिथिलाई शिविरमा जान–आउन हेलिकप्टर हुँदा सजिलो भयो ।’ शनिबारबाट भएको शिविरमा ५५ जनाको आँखाको शल्यक्रिया गरेर निको बनाएको छ भने अन्य ४०० भन्दा बढी आँखाका समस्या भएका बिरामीले उपचार पाएका छन् ।
शिविरमा आँखाको शल्यक्रियासहित परिवार नियोजन सेवा, डेन्टल सेवा, बाल रोग, स्त्री रोग, गर्भ चेकजाँच, हड्डी सम्बन्धी समस्याको पनि उपचार गरिएको थियो । दुवै आँखा नदेख्ने भएकी साइपाल गाउँपालिका–२ की हाँसु बोहराले शल्यक्रियापछि आँखा खुलेर बाहिर संसार देख्न पाइने हुँदा खुसी व्यक्त गर्नुभयो । उहाँले आँखाको शल्यक्रिया गर्ने तिलगंगा आँखा अस्पताल काठमाडौंकी डा. रिता गुरुङलाई धन्यवाद दिनुभयो ।
उहाँजस्तै १५ वर्षदेखि दुवै आँखा बन्द भएकी प्यारी बोहराले पनि डाक्टरहरूलाई भगवान् भन्दै बाहिर संसार देखेर हर्षित हुनुभयो । आँखाको उपचारका लागि गाउँपालिकाले व्यवस्थापन गरेकाले गाउँबासीले अध्यक्ष धामीलाई समेत धन्यवाद दिएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ नेत्र चिकित्सक डा. रिता गुरुङको नेतृत्वको टोलीले काँडा माध्यमिक विद्यालयमा आँखा शिविर सञ्चालन गरेको हो । आँखा शिविरमा मोतिविन्दु र आँखामा मासु पलाउने रोगको शल्यक्रिया तथा आँखा सम्बन्धी अन्य सेवाहरू दिइएको छ ।
चीनको तिब्बतसँग सीमा जोडिएको जिल्लाकै विकट गाउँपालिकामा जिल्ला अस्पतालमा समेत उपलब्ध नभएको सेवा घरदैलोमै पाएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् । ‘दशौं वर्षदेखि अन्धकारमा बाँचिरहेका बुढाबुढी फेरि आँखा देख्ने भएका छन्,’ अध्यक्ष धामीले भन्नुभयो । दुर्गम भएका कारण शिविरस्थलसम्म हिँडेर आउन नसक्ने र बोकेर ल्याइदिने सहयोगी नभएका १८ जनालाई हेलिकप्टरमार्फत शिविरसम्म ल्याइएको थियो ।
शिविर सञ्चालनका लागि तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन मोतिविन्दु परियोजनालले १५ लाख, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख, जिल्ला अस्पताल बझाङ, सेती प्रादेशिक अस्पताल धनगढी र साइपाल गाउँपालिकाको करीब १५ लाख गरी ५५ लाख रुपैयाँ हाराहारीमा खर्च भएको छ ।